पुँजी बजार सुधारका काम भइरहेका छन् : अध्यक्ष भट्ट
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजी बजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उहाँले उक्त धारणा राख्नुभएको हो ।

धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र सङ्घसंस्थासँग निरन्तर छलफल भइरहेको उहाँले बैठकमा जानकारी दिनुभयो ।
उहाँले आज सरोकारवाला तथा सांसदले उठाउनुभएका जिज्ञासाको उत्तर दिँदै पुँजी बजारलाई नीतिगत तथा कानुनी सुधार गरेर व्यवस्थित गर्ने प्रयास गरिरहेको छ भन्नुभयो । भट्टले नयाँ कम्पनीको प्राथामिक सेयर जारी गर्दा अपनाउनुपर्ने विभिन्न चेकलिष्ट लगायत धेरै विषय समावेश गरेर नीतिगत सुधार गर्न लागेका बैठकमा जानकारी गराउनुभयो ।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले अर्थ मन्त्रालयले पुँजी बजारलाई व्यवस्थित गराउनको लागि २१ बुँदे कार्ययोजनाले व्यवस्थित गर्ने बताउनुभयो ।
सांसद पर्शुराम तामाङले सरकारले अर्थतन्त्र सँगसँगै पुँजी बजारलाई पनि चलायमान गराउनुपर्ने बताउनुभयो ।
सांसद सुशील खड्काले पुँजी बजार लगानीकर्ता सङ्घसंस्थाको सङ्ख्या मात्रै धेरै भएकाले पुँजी बजारको वास्तविक समस्या उजागर हुन नसकेको बताउनुभयो ।
नेपाल सेयर बजार लगानीकर्ता सङ्घका अध्यक्ष हरिबहादुर केसीले धितोपत्र बोर्डसँग सम्बन्धित ऐन र नियमावली समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।
सेयर लगानीकर्ता अजयकुमार श्रेष्ठले सेयर बजारमा आफैँ स्टक ब्रोकर र आफैँ लगानीकर्ता हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।
नेपाल सेयर बजार लगानी सङ्घका महासचिव खगेन्द्रराज कँडेलले विश्व पुँजी बजारले अपनाएका रणनीति योजनामुताबिक नेपाली सेयर बजारलाई समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले सूचना प्रविधिको प्रयोग गरेर व्यवस्थित गर्न खोजेको बताउनुभयो ।
नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले पछिल्ला समय नेप्सेका देखिएका प्राविधिक समस्या सल्टाउने प्रयास भएको बताउनुभयो ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका नितेशकुमार अग्रवालले प्राथमिक सेयरमा १० कित्ताको प्रावधानलाई पनि समयसापेक्ष बनाउनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्