‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान’
नेपालगन्ज । कविता हुँदै कथा लेखनमार्फत नेपाली साहित्यमा हस्तक्षेपकारी उपस्थिति बनाएका कथाकार नवीन अभिलाषी ‘सनत रचना कथा सम्मान २०८२’ बाट सम्मानित हुनुभएको छ । मध्यपश्चिम स्रष्टा समाजले २०८२ सालमा प्रकाशित उहाँको कथा सङ्ग्रह ‘दहाड’ का लागि अभिलाषीलाई उक्त सम्मान प्रदान गरेको हो ।

नेपालगन्जमा आयोजित समारोहमा वरिष्ठ साहित्यकार तथा सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ र सम्मानका संस्थापक तथा वरिष्ठ कथाकार सनत रेग्मीले अभिलाषीलाई नगद ११ हजार १११ रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
गत वर्ष प्रकाशित तथा आह्वान बमोजिम प्राप्त कथा सङ्ग्रहहरूमध्ये वरिष्ठ साहित्यकार तथा सम्पादक गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले ‘दहाड’लाई उत्कृष्ट कृतिका रूपमा छनोट गरेपछि अभिलाषीलाई सम्मान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुका अनुसार ‘दहाड’मार्फत अभिलाषीले नेपाली समाजको इतिहास र वर्तमानका कटु यथार्थ, बहुआयामिक असमानताबाट सिर्जित विडम्बना तथा सामाजिक संरचनाको पिँधमा रहेका समुदायका अलिखित सङ्घर्षलाई कथामार्फत अभिव्यक्त गर्नुभएको छ । यही योगदानका लागि उहाँलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।
कथा सङ्ग्रह ‘दहाड’माथि समीक्षकीय टिप्पणी राख्दै समीक्षक भागवत पौडेलले सङ्ग्रहका कथामा न्यायको मुद्दा केन्द्रमा रहेको र न्याय कसले दिने भन्ने प्रश्न उठाइएको बताउनुभयो । विभिन्न तहका विभेद र असमानताबाट अन्यायमा परेका मानिसका कथामार्फत कथाकारले समाजसामु महत्वपूर्ण प्रश्नहरू छाडेको उहाँको भनाइ थियो । ती प्रश्नहरू जीवित रहुञ्जेल ‘दहाड’ सान्दर्भिक रहिरहने उहाँले बताउनुभयो ।
सम्मान ग्रहणपछि कथाकार अभिलाषीले समाजमा विभेदका अनेक तह रहेको अनुभूति भएपछि आफू साहित्य अध्ययन र लेखनतर्फ आकर्षित भएको बताउनुभयो । ‘दहाड’मा आफ्नै समुदायको इतिहासलाई भुईँ तहबाट हेर्ने प्रयास गरिएको उहाँले उल्लेख गर्नुभयो ।
‘सनत रचना कथा सम्मान’ वरिष्ठ कथाकार रेग्मीले आफू र आफ्नी जीवनसंगिनी रचना रेग्मीको नाममा स्थापना गर्नुभएको हो । सम्मान हस्तान्तरणको व्यवस्थापन भने मध्यपश्चिम स्रष्टा समाजले गर्दै आएको छ ।
यस सम्मान अन्तर्गत पहिलो वर्ष २०७९ मा कथा सङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’ का लागि कथाकार दिला शाह, २०८० सालमा ‘कालो गुलाब’ का लागि कथाकार गोपाल अश्क र २०८१ सालमा ‘बहुरूपी’ का लागि कथाकार श्रेयज सुवेदी सम्मानित भइसक्नुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यसमेत रहेका अभिलाषी कविता विधामा पनि परिचित स्रष्टा हुनुहुन्छ ।
यसैबीच, सोही समारोहमा कथाकार सनत रेग्मीको ८०औँ जन्म दिवस मनाइनुका साथै उहाँका दुई कृति विमोचन गरिएका थिए । रेग्मीका निबन्धहरूको सङ्ग्रह ‘टुक्रा टुक्रा जिन्दगी’ तथा उहाँको साहित्यिक व्यक्तित्वमाथि विभिन्न व्यक्तिले लेखेका लेखहरूको सङ्ग्रह ‘सनत रेग्मी शब्दाभिनन्दन’ विमोचन गरिएको हो ।
विमोचित कृति ‘टुक्रा टुक्रा जिन्दगी’बारे डा। हरि तिमिल्सेनाले तथा ‘सनत रेग्मी शब्दाभिनन्दन’बारे साहित्यकार ऋचा लुइँटेलले परिचयात्मक टिप्पणी राख्नुभएको थियो ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, कथाकार नवीन अभिलाषी, उपन्यास समाजका अध्यक्ष शङ्कर भारती, नेपाली भाषाविद् प्रा।डा। कृष्णप्रसाद घिमिरे, भारतको महाराष्ट्रबाट आउनुभएका साहित्यकार मनिषा खटाटे र प्रदीप सारङ्ग, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य किरण आचार्य, लेखक नरेन्द्रजंग पिटर लगायत एक सय भन्दा बढी साहित्य प्रेमीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्