एसियाड महिला कबड्डी: थाइल्यान्डलाई पराजित गर्दै नेपालको सुखद सुरुआत
काठमाडौँ। जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ।

जापानको तोकाइ सिटिजन जिम्नेसियममा आज भएको समूह चरणको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ अङ्कले पराजित गर्दै विजयी सुरुआत गरेको हो।
खेलको पहिलो हाफमा नेपाल २४–१५ अङ्कले पछि परेको थियो। तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले ३१–१९ अङ्क जोड्न सफल भयो। यससँगै समग्रमा ४६–४३ को नतिजा निकाल्दै नेपालले जित आफ्नो पक्षमा पारेको हो।
जारी एसियाली खेलकुदमा नेपालले सोचेअनुसारको नतिजा ल्याउन नसकिरहेका बेला महिला कबड्डी टोलीको यो जितलाई निकै महत्त्वपूर्ण मानिएको छ।
यसअघि चीनमा सम्पन्न १९औँ संस्करणको एसियाली खेलकुदमा पनि नेपालको महिला कबड्डी टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो।
जारी प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा थाइल्यान्डका साथै श्रीलङ्का र चाइनिज ताइपेइ छन्। नेपालले अब लिग चरणका बाँकी खेलमा श्रीलङ्का र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै समूह ‘ए’ मा साविक विजेता इरानसहित भारत, बङ्गलादेश र आयोजक जापान रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।








प्रतिक्रिया राख्नुहोस्