तपाईँ सुन्दै हुनुहुन्छः

‘दौडिएर ज्यान त बचाइयो, अबको घरबास कहाँ ?!’

काठमाडौँ । भदौ १० गते अचानक आएको बाढीले घरबास लग्यो, आफूले भने दौडेर ज्यान बचाउनुभएकी नुवाकोट जिल्लाको विदुर नगरपालिका ४ सिमचौरकी स्थानीय ६० वर्षिया ठूली तामाङ ५ दिनदेखि होल्डिङ्ग सेन्टरमा बस्दै आउनुभएको छ । होल्डिङ्ग सेन्टरमा खानबस्नको व्यवस्था त छ तर अबको आफ्नो घरबास के हुने कहाँ हुने भन्ने चिन्ताले उहाँलाई सताएको छ ।

रसुवा, नुवाकोट जिल्लामा भदौ १० गतेको बाढीले विस्थापित भएकालाई जिल्ला स्थित विपद् व्यवस्थापन समिति तथा स्थानीय पालिका र वडाले विभिन्न स्थानीय होल्डिङ्ग सेन्टरमा अस्थायी रुपमा बस्न, खान र स्वास्थ्य उपचारको व्यवस्था गरिरहेको छ ।

नुवाकोट जिल्लाको विदुर नगरपालिकामा ९ वडाको कोलनी भन्ने ठाउँमा ४ सय घर पूर्णरुपमा क्षति भई विस्थापित भएका ४ सय ५० घरका सदस्यलाई स्थानीय कर्वड हल, विद्यालयहरूमा अस्थायी बसोबास, खाना र स्वास्थ्य उपचारको लागि व्यवस्थापन गरिएको विदुर नगरपालिका ९ का वडा अध्यक्ष लेलिन रञ्जितले जानकारी दिनुभयो ।

अध्यक्ष रञ्जितले आगामी दिनका लागि स्थानीय स्रोत साधन पर्याप्त नहुँदा र नदी पारिका क्षेत्रसँग यातायात तथा आवतजावत सम्पर्क टुटेका कारण विस्थापित परिवारको व्यवस्थापनमा थप कठिनाइ हुने सम्भावना भएकाले पुल निर्माण गर्नु हाललाई अत्यावश्यक भएकोले यसतर्फ सरकारले ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

यस्तै रसुवा जिल्लाको उत्तरगया र गोसाईंकुण्ड गाउँपालिका बाढि प्रभावितहरूको लगत सङ्कलन, बेपत्ताहरूको खोजी तथा उद्धार र विस्थापित परिवारलाई होल्डिङ्ग सेन्टरमा राखिएको रेडियो नेपालका रसुवा संवाददाता हेमनाथ खतिवडाले जानकारी गराउनुभयो ।

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा दुई वटा, सूर्यगढी गाउँपालिका र बेलकोटगढी नपामा एक–एक वटा १५ सय बढी प्रभावितलाई दाता तथा इच्छुकले दिन चाहेका राहत सामग्री एकद्वार प्रणालीअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्कलन गरी आवश्यकताका आधारमा सामग्री होल्डिङ सेन्टरमा पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।

बाढि प्रभावित जिल्लाका सदरमुकाम क्षेत्रमा राहत सामग्री वितरण सहज भए पनि नदी पारिका क्षेत्रमा वितरणमा कठिनाइ भएको र केही संस्थाले ‘ड्रोन’मार्फत राहत सामग्री होल्डिङ सेन्टरसम्म पुर्‍याउने काम गरे पनि पर्याप्त हुन सकेको छैन । 

हालसम्म मृत्यु तथा बेपत्ताको यकिन तथ्याङ्क सङ्कलन भई  नसकेको अवस्थामा जीवितै रहेका व्यक्तिहरूको व्यवस्थापनका लागि अझ बढी प्रभावकारी सम्पर्क समन्वय र सहकार्यमा जुट्न आवश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button