तपाईँ सुन्दै हुनुहुन्छः

इमरान खान अदियाला जेलमा फिर्ता

इस्लामाबाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका लागि इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पताल लगिएको केही समयपछि शुक्रबार रावलपिन्डीस्थित अदियाला जेलमा फिर्ता सारिएको छ ।

 पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक खानलाई स्वास्थ्यको विस्तृत मूल्याङ्कनका लागि निजी अस्पतालमा परीक्षण गराउन अदालतले सङ्घीय सरकारलाई निर्देशन दिएको थियो । अदालतले उहाँलाई दुई दिनभित्र निजी अस्पतालमा सारेर आवश्यक परीक्षण गराउन आदेश दिएको थियो ।

स्थानीय सञ्चारमाध्यम डनका अनुसार खानलाई अधिकतम सुरक्षा व्यवस्थाबिच अस्पताल लगिएको र परीक्षणपछि जेल फिर्ता गरिएको हो । उहाँको आवागमनका क्रममा अस्पताल वरिपरि उच्च सुरक्षा घेरा बनाइएको थियो । पित्रास बुखारी रोड र सर्भिस रोड साउथ बिहीबार रातिदेखि सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

इस्लामाबाद राजधानी क्षेत्र प्रहरी, नगर प्रशासन र पाकिस्तान रेन्जर्ससहित आठ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । राजधानी प्रहरी र जेल अधिकारी सम्मिलित टोलीले खानको अस्पताल आवागमन तथा सुरक्षाको व्यवस्थापन गरेको थियो । खान सन् २०२३ देखि जेलमा हुनुहुन्छ ।

तोशाखाना मुद्दासँग सम्बन्धित १४ वर्षको सजाय भोगिरहनुभएका उहाँमा रक्तचापमा उतारचढाव देखिएपछि स्वास्थ्य परीक्षण गराइएको हो । हालैका जेल मेडिकल अभिलेखमा पनि स्वास्थ्यसम्बन्धी लक्षण उल्लेख गरिएको थियो । सर्वोच्च अदालतले तोकेको स्वास्थ्य परीक्षण अन्तर्गत आवश्यक जाँच र प्रारम्भिक चिकित्सकीय परीक्षण पूरा भएपछि उहाँलाई शुक्रबार बिहान अदियाला जेल फिर्ता लगिएको अधिकारीहरूले बताएका छन् । रासस/एएनआई 

प्रतिक्रिया राख्नुहोस्

Back to top button