बैतडीमा उच्च सतर्कता, राति ग्रामीण कच्ची सडकमा सवारी सञ्चालनमा रोक
बैतडी।भारी वर्षा र मनसुनजन्य विपद्को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुदूरपश्चिमका पहाडी भूभागसहित विभिन्न क्षेत्रमा भारी वर्षा र मनसुनजन्य विपद्को जोखिम औँल्याएपछि प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो।
प्रशासनले भदौ २ गते बिहानदेखि भदौ ४ गते बिहीबार बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले खोला–नदी आसपास नजान अनुरोध गरेको छ।
यस्तै, भदौ २ गते बेलुका ९ बजेदेखि भदौ ४ गते बिहान ५ बजेसम्म ग्रामीण कच्ची सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो।
अन्य सडकमा समेत सावधानीपूर्वक सवारीसाधन सञ्चालन गर्न र आवश्यक सतर्कता अपनाउन चालकलाई प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले विपद्का कारण तत्काल उद्धार आवश्यक परे जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको ११४४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
भारी वर्षाका कारण बैतडीमा बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिम रहेको भन्दै प्रशासनले यसअघि पनि अत्यावश्यकबाहेक यात्रा नगर्न तथा जोखिमयुक्त स्थानमा राति नबस्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ।








प्रतिक्रिया राख्नुहोस्