चट्याङ लाग्दा मुगुमा ३ गाई र ११ बाख्रा मरे

मुगु । मुगुको सोरु गाउँपालिका–५ नेरस्थित भदाली जङ्गलमा चट्याङ लागेर ३ गाई र ११ बाख्रा मरेका छन्।
मङ्गलवार दिउँसो करिब ४ बजे जङ्गलमा चराउन लगिएका पशुचौपायालाई चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। चट्याङका कारण स्थानीय टोपबहादुर बुढा, बाचे नेपाली र गणेश बुढाका एक/एक गाई तथा पदमबहादुर शाहीका तीनसहित अन्य स्थानीयवासीका ११ बाख्रा मरेका हुन्।
घटनाबारे जानकारी पाएपछि सर्जमिन मुचुल्काका लागि प्रहरीलाई घटनास्थल पठाउने तयारी गरिएको छ। प्रहरी चौकी सोरुबर्माबाट प्रहरी नायब निरीक्षक देवबहादुर खड्काको कमाण्डमा तीन जनाको टोली बुधबार बिहान घटनास्थलतर्फ जाने प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी सोरुबर्माबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरी हवल्दार देवेन्द्र खत्रीले जानकारी दिएको मुगुका प्रहरी नायब उपरिक्षक रबिराज थपलियाले जानकारी दिनु भयो । प्रहरीले घटनास्थल पुगेपछि पशुचौपायाको मृत्युको थप विवरण तथा क्षतिको यकिन गर्ने जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्