पहिरोपीडित ताम्सुका ५८ परिवार त्रिपालमुनि
बाजुरा।लगातारको वर्षासँगै आएको बाढीपहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ स्थित ताम्सु गाउँ संकटमा परेको छ। गाउँको बीच भागमै पहिरो जानुका साथै ठाउँ–ठाउँमा जमिन चिराचिरा परेपछि ताम्सुका ५८ परिवार त्रासैत्रासमा रात बिताउन बाध्य भएका छन्।
वडाध्यक्ष नन्द थापाका अनुसार गाउँमा रहेका ६० परिवारमध्ये पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि बाँकी ५८ परिवारसमेत उच्च जोखिममा परेका छन्।
बिहीबार राति गएको पहिरोमा परी २० वर्षीया प्रतीक्षा थापाको मृत्यु भएको थियो भने धर्म थापा र धौलीदेवी रावल घाइते भएका थिए।
पहिरोपछि विस्थापित परिवारमध्ये केही सहकारीको भवन र महालक्ष्मी आधारभूत विद्यालयमा आश्रय लिएर बसेका छन् भने केही परिवार त्रिपाल टाँगेर रात बिताउन बाध्य भएका स्थानीय कृष्ण थापाले बताउनुभयो।
लगातारको वर्षाका कारण गाउँको जमिन चिराचिरा पर्न थालेपछि स्थानीयमा थप त्रास बढेको छ। बाढीपहिरोले ताम्सुमा करिब ६० रोपनी खेतीयोग्य जमिनमा समेत क्षति पुर्याएको छ। घरसँगै खेतीयोग्य जमिनसमेत जोखिममा परेपछि स्थानीयको दैनिकी र जीविकोपार्जनमा थप समस्या भएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार जिल्लाका नौवटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन्। जिल्लाभर एक सयभन्दा बढी गाउँ बाढी तथा पहिरोको जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो।
पहिरोबाट विस्थापित परिवारको तत्कालीन व्यवस्थापनसँगै राहत तथा पुनर्स्थापनाका लागि आवश्यक पहल भइरहेको प्रजिअ निरौलाले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्