गृहमन्त्री गुरुङद्वारा गृह जिल्लामा मतदाता भेटघाट
गोरखा । गृहमन्त्री सुधन गुरुङले गृहजिल्ला गोरखामा मतदाता भेटघाट गर्नुभएको छ ।
हरेक महिना गृहजिल्ला आउने कार्यक्रमअनुसार शुक्रबार साँझ आरुघाट पुग्नुभएका मन्त्री गुरुङले शनिबारदेखि गोरखा क्षेत्र नम्बर १ का विभिन्न गाउँबस्तीमा पुगेर स्थानीयसँग भेटघाट गर्नुभएको हो ।

शनिबार भीमसेन थापा गाउँपालिकाका टारीफाँट, तान्द्राङ, सिमलाफेद, अश्राङ, बोर्लाङ र धावाका स्थानीयसँग भेटघाट गरी उहाँले जनगुनासो सुन्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाका जिल्ला नेता ध्रुव अधिकारीले जानकारी दिनुभयो ।
आइतबार बिहान मनकामना मन्दिरमा दर्शन तथा पूजाआजा गरेपछि मन्त्री गुरुङले सहिद लखन गाउँपालिकाका मनकामना, ताक्लुङ र रागिनास लगायत क्षेत्रमा पुगेर स्थानीयसँग भेटघाट गर्नुभयो ।
भेटघाटका क्रममा स्थानीयले खाना पकाउने ग्यास र रासायनिक मलको अभाव तथा वर्षाका कारण ग्रामीण सडकमा यातायात सञ्चालनमा समस्या भएको गुनासो गरेका थिए ।
गृहमन्त्री गुरुङले स्थानीयका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी तत्काल पहल गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्