‘जनताको विश्वास कायम राख्न विकास, सुशासन र पारदर्शिता व्यवहारमा देखिनुपर्छ’
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो ।
यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगारी नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
बैठकमा सांसदहरूको प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री यादवले रोजगारमूलक सीप र उद्यमशीलता प्रवद्र्धन गर्न संघ, प्रदेश र स्थानीय तीनै तहमा गुणस्तरीय सीप तालिम तथा कृत्रिम बुद्धिमत्ता (ए आई) र डिजिटल प्रविधिसँग सम्बन्धित रोजगारीका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
मन्त्री यादवले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप पहिचान गरी आन्तरिक उत्पादनसँग जोड्ने, रोजगारीको नयाँ अवसर सिर्जना गर्ने र बेरोजगारी न्यूनीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
यस अघि बैठकमा सांसदहरुले देशभर बाढी तथा पहिरोमा परी दर्जनौँ मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोतसाधन उपलब्ध गराई प्रभावित र पीडितलाई समयै उद्धार तथा राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो ।
यस्तै बैठकमा सांसदहरुले नागरिकहरूलाई खाना पकाउने ग्यास सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा बोल्दै सांसदहरुले ग्यासको उपलब्धता सहज नहुँदा आम नागरिकले सास्ती भोगिरहेको भन्दै तत्काल सहज रुपमा ग्यास प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले देशभर बाढी तथा पहिरोमा पहिरो परी दर्जनौँ मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोतसाधन उपलब्ध गराई प्रभावित र पीडितलाई समयै उद्धार तथा राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो ।
यस्तै सरकारको कार्यशैली नागरिकसँग गरेका बाचाविपरित र सामाजिक सञ्जालमा प्रचारबाजी मात्र सीमित भएको भन्दै सांसदहरुले कृषि, रोजगारी, आर्थिक विकासको लागि प्रचुर सम्भावना बोकेका क्षेत्र प्राकृतिक स्रोतसाधनको उचित प्रयोग तर्फ सकारको ध्यान नगएको बताउनुभयो ।
सांसदहरुले सरकारलाई विफल हुने छुट नभएको भन्दै जनताको विश्वास र धैर्यता कायम राख्न विकास, सुशासन र पारदर्शिता व्यवहारमा देखिनुपर्ने औँल्याउनुभयो ।
बैठकमा सांसदहरुले हाल अनलाइन ठगीका धन्दा बढेको भन्दै यसबाट आर्थिक र भौतिक असुरक्षा बढेको भन्दै यस्ता ठगी नियन्त्रण गर्न सरकार गम्भीर बन्न आवश्यक रहेको औँल्याउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ ३ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्