तपाईँ सुन्दै हुनुहुन्छः

गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण

रसुवा। जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड आउने तीर्थयात्रीलाई लक्षित गरी पदमार्गमा खोलिएका होटल तथा ‘लज’ को सेवा शुल्क निर्धारण गरिएको छ ।  

जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला पक्षसमेतको सहभागितामा गत वर्षको जस्तै चिया, नास्ता, खाना तथा लजवापतको शुल्क निर्धारण गरिएको हो । निर्धारित शुल्कअनुसार धुन्चे–घट्टेखोला आसपासमा प्रति कप रु ३० हुँदै गोसाइँकुण्डमा रु ८५, दालभात–तरकारीको रु २७५ हुँदै रु ६०० तथा  सुतेको रु ३०० हुँदै रु ६०० सम्म शुल्क लाग्ने छ । बजार अनुगमन समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार तोकिएकोभन्दा बढी रकम लिन नपाइने र सबैले देख्ने गरी सेवा शुल्क टाँस्नुपर्ने व्यवस्था गरिएको छ ।   

यात्रुसँग बढी शुल्क लिएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गर्दै उहाँले भन्नुभयो, “पवित्र गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रुको पक्षमा निर्णय गरिएको छ । सरोकारवाला सबै पक्षको सहयोग र सहकार्यमा सुरक्षा, स्वास्थ्य, यातायात, सरसफाइ तथा खाद्यान्न व्यवस्थापनलगायतका तयारी पूरा भएको छ । वर्षाको समयमा मौसम ख्याल गरी आउनुहुन सबैमा अनुरोध छ ।”

यसवर्ष १० हजारभन्दा बढी यात्रु गोसाइँकुण्ड मेला भर्न आउने अपेक्षा गरिएको धुन्चेस्थित  बौद्ध धर्मगुरू लामा रेञ्जन घलेले जानकारी दिनुभयो ।

यसैगरी, संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले सरकारी, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज र पेसा व्यवसायीको समेतको सहयोग, समन्वयमा र सहकार्यमा  तीर्थयात्रुलाई राहत दिने गरी आवश्यक व्यवस्था मिलाइसकिएको छ भन्नुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button