खाना पकाउने ग्याँसको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले नागरिकहरूलाई खाना पकाउने ग्याँस सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसदहरुले ग्याँसको उपलब्धता सहज नहुँदा आम नागरिकले सास्ती भोगिरहेको भन्दै तत्काल सहज रुपमा ग्याँस प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले देशभर बाढी तथा पहिरोमा पहिरो परी दर्जनौँ मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोतसाधन उपलब्ध गराई प्रभावित र पीडितलाई समयै उद्धार तथा राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो ।
यस्तै सरकारको कार्यशैली नागरिकसँग गरेका बाचा विपरीत र सामाजिक सञ्जालमा प्रचारबाजी मात्र सीमित भएको भन्दै सांसदहरुले कृषि, रोजगारी, आर्थिक विकासको लागि प्रचुर सम्भावना बोकेका क्षेत्र प्राकृतिक स्रोतसाधनको उचित प्रयोग तर्फ सकारको ध्यान नगएको बताउनुभयो ।
सांसदहरुले सरकारलाई विफल हुने छुट नभएको भन्दै जनताको विश्वास र धैर्यता कायम राख्न विकास, सुशासन र पारदर्शिता व्यवहारमा देखिनुपर्ने औँल्याउनुभयो ।
बैठकमा सांसदहरुले हाल अनलाइन ठगीका धन्दा बढेको भन्दै यसबाट आर्थिक र भौतिक असुरक्षा बढेको भन्दै यस्ता ठगी नियन्त्रण गर्न सरकार गम्भीर बन्न आवश्यक रहेको औँल्याउनुभयो ।
राष्ट्रिय सभाको बैठकमा अहिले बैठकको विशेष समयमा सांसदहरुले धारणा राख्ने क्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्