ओल्के र बुढी पोल्ने पर्व: सुदूरपश्चिमको अमूल्य सांस्कृतिक धरोहर

बैतडी। बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदै छ । पहाडी समुदायले हरेक वर्ष भदौ संक्रान्तिका दिन ओल्के पर्व मनाउने गरेका छन् । ओल्केलाई अन्य चाडपर्व सुरु हुने ‘जेठो पर्व’का रूपमा समेत लिने गरिन्छ ।
‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । यस दिन ठूलाबडा, मान्यजन तथा ज्येष्ठ नागरिकलाई फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड तथा विभिन्न परिकार दिएर सम्मान गर्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार करुणाकर भट्टले बताउनुभयो। आफन्त तथा इष्टमित्रसँग भेटघाट गरी मिठोमसिनो खाने परम्परा पनि रहेको छ ।

बैतडीका विभिन्न मन्दिर तथा शक्तिपीठमा नयाँ मकै चढाएर ओल्को दिने चलनसमेत छ । आफ्नो खेतमा फलेको फल तथा अन्नलाई देवतालाई चढाएपछि मात्रै खाने परम्परा रहेको बैतडी पाटन-१० कि सरस्वती अवस्थीले बताउनुभयो । मुख्यगरी नयाँ फलेको अन्न मकैलाई देवताको थानमा चढाउने चलन छ।
बुढी हाल्ने पर्व पनि आजै
ओल्केसँगै ‘बुढी’ हाल्ने परम्परा पनि जोडिएको छ । भाद्र संक्रान्तिका दिन गाउँ नजिकका अग्ला टाकुरामा रूखका हाँगाबिँगा तथा झ्याङ जम्मा गरेर ‘बुढी’ बनाइन्छ । उक्त बुढीलाई असोज सङ्क्रान्तिको साँझ सामूहिक रूपमा पोल्ने चलन छ ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा परम्परागत रूपमा मनाइने ‘बुढी हाल्ने’ पर्व एक विशिष्ट सांस्कृतिक, धार्मिक र ऐतिहासिक धरोहर हो। हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन गाउँका चोक, चौतारा वा अग्ला टाकुराहरूमा स्थानीय बासिन्दा जम्मा भई सल्लो, बाँस र विभिन्न बोटबिरुवाका हाँगाहरू गाडेर ‘बुढी’हाल्ने अर्थात् थुप्रो बनाउने कार्य गरिन्छ।

भदौ महिनाभरि स्थानीय गोठाला र बटुवाहरूले यस थुप्रोमा हरियो बुट्यान र काँडाहरू थप्दै जाने र ठिक एक महिनापछि असोज सङ्क्रान्तिका दिन साँझपख धूमधामका साथ यसलाई जलाएर (बुढी पोलेर)पर्वको समापन गर्ने चलन छ।

पौराणिक कालमा भगवान् श्रीकृष्णले बालकहरूलाई दुःख दिने राक्षसी ‘पुतना’को वध गरेको र सोही खुसीयालीमा पुतनाको शव दहन गरिएको सम्झनामा यो पर्व मनाइने धार्मिक विश्वास रहेको छ।

वर्षायाममा लाग्ने रोगव्याधि, पशुचौपायामा आउने विपत्ति र समाजको नकारात्मक ऊर्जालाई ‘बुढी’ सँगै जलाएर नष्ट गरिने सामाजिक मान्यता रहे पनि आधुनिकता र बसाइँसराइका कारण यो मौलिक परम्परा पछिल्लो समयमा ओझेलमा पर्न थालेकाले यसको संरक्षण र पुस्तान्तरण आवश्यक देखिन्छ।








प्रतिक्रिया राख्नुहोस्