तपाईँ सुन्दै हुनुहुन्छः

उत्तरी नाका नखुलेपछि हाटबजारमा अन्योल, उपल्लो मुगुका बासिन्दा चिन्तित

मुगु। मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दाका लागि अत्यन्तै महत्वपूर्ण मानिने उत्तरी नाकाको हाटबजार यस वर्ष पनि सञ्चालन हुने/नहुने विषयमा अन्योल सिर्जना भएको छ। भदौ लागिसक्दा समेत नाका खोल्ने कुनै सुरसार नदेखिएपछि उपल्लो मुगुका नागरिक तथा व्यापारी चिन्तित बनेका छन्।

चीनसँगको उत्तरी नाका खुलेपछि सञ्चालन हुने हाटबजारबाट मुगुम कार्मारोङ गाउँपालिकाभरिका बासिन्दाले वर्षभरिका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, पेय पदार्थ, विद्युतीय सामग्री लगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्दै आएका थिए। यो हाटबजार स्थानीयका लागि सामान खरिद गर्ने थलो मात्र नभई व्यापार तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने महत्वपूर्ण अवसरसमेत बन्दै आएको थियो।

हाटबजारमा स्थानीय व्यापारीले चीनबाट ल्याएका दैनिक उपभोग्य सामग्री मुगुका नागरिकले खरिद गर्ने गर्थे। त्यसैगरी स्थानीयले उत्पादन तथा संकलन गरेका जडीबुटी, यार्सागुम्बा, काठका सामग्री (लौरी, झरो) तथा फलफूलका भुजा लगायतका वस्तु चिनियाँ व्यापारीलाई बिक्री गरी कारोबार गर्ने गरेका थिए।

तर, यस वर्ष भदौ लागिसक्दा पनि हाटबजारका लागि नाका खोल्ने कुनै तयारी नदेखिएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताउनुभयाे।

अध्यक्ष लामाका अनुसार चीनमा पशुमा रोग फैलिएका कारण खोप लगाउने अभियान चलिरहेकाले तत्काल नाका नखोलिने जानकारी चिनियाँ पक्षबाट आएको छ। साथै, नेपालबाट चीनतर्फ जाने जडीबुटीको मागसमेत पछिल्ला दिनमा घटेकाले हाटबजार सञ्चालनमा अन्योल थपिएको उनले जानकारी दिनुभयाे।

हाटबजार नलागेपछि उपल्लो मुगु र विशेषगरी भौगोलिक रूपमा अत्यन्तै विकट मानिने करान भेगका नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्ने स्थानीयको चिन्ता छ। करान भेगबाट जिल्ला सदरमुकाम गमगढी पुग्न धेरै दिन लाग्ने र पैदल बाटोमा भारी बोकेर फर्किनुपर्ने बाध्यता रहेकाले यो हाटबजार स्थानीयका लागि सहज र भरपर्दो विकल्प बन्दै आएको थियो।

गमगढीबाट खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामान भारी बोकेर करान भेगसम्म पुर्‍याउँदा ढुवानी खर्च निकै महँगो पर्ने स्थानीय बताउँछन्। त्यसैले वर्षमा एकपटक नाका खुलेर हाटबजार लाग्दा स्थानीयले आवश्यक सामान एकैपटक खरिद गरी वर्षभरिका लागि जोहो गर्ने गरेका थिए।

हाटबजार नलागे स्थानीय उत्पादनको बिक्रीसमेत प्रभावित हुने देखिएको छ। जडीबुटी, यार्सागुम्बा तथा अन्य स्थानीय उत्पादन बिक्रीबाट आम्दानी गर्दै आएका नागरिकले बजार गुमाउने अवस्था आएको गुनासो गरेका छन्।

नाका कहिले खुल्ने र यस वर्ष हाटबजार लाग्ने वा नलाग्ने विषयमा स्पष्ट जानकारी नहुँदा उपल्लो मुगुका नागरिक तथा व्यापारी अन्योलमा छन्। नाका शीघ्र सञ्चालनका लागि नेपाल सरकार तथा सम्बन्धित निकायले चिनियाँ पक्षसँग आवश्यक समन्वय र पहल गर्नुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button