एक सातामै रौतहटमा चार बालबालिकाको डुबेर मृत्यु
रौतहट । रौतहटमा एक साताको अवधिमा चार बालबालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एक साताभित्र तीन बालिका र एक बालकको डुबेर मृत्यु भएको हो ।

शनिबार मात्रै परोहा नगरपालिका–९ खापड टोलमा कल्भर्टको पर्खालबाट लडेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिका फातमा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय शेख मेहबुल हककी छोरी फातमा शनिबार बाख्रा चराउन घरबाट निस्किएकी थिइन् । बाख्रा चराउने क्रममा कल्भर्टको पर्खालबाट खाल्डोमा खसेर जमेको पानीमा डुबेकी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
यसअघि गत मङ्गलवार देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, शेख खुरौसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।
एकै सातामा चार बालबालिकाको डुबेर मृत्यु तथा बेपत्ता भएको घटनाले जिल्लामा बालबालिकाको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । नदी, पोखरी, कल्भर्ट तथा जमेको पानी भएका स्थानमा बालबालिकालाई एक्लै जान नदिन र जोखिमयुक्त स्थानमा आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ ।
शनिवारको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्