तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

रोल्पा। रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने नौ जना बेपत्ता छन्।

बुधबार राति अविरल वर्षापछि माथिबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार पहिरोमा पुरिएर १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको मृत्यु भएको हो।

पहिरोमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा परी ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर सम्पर्कविहीन छन्।

घटनापछि प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको नेतृत्वमा सुरक्षा निकायसहितको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय थबाङबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य गरिरहेको छ।

पहिरोमा थप मानिससमेत पुरिएको हुनसक्ने आशंका रहेकाले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button