रोल्पा पहिरो : बेपत्ताको खोजी, राहत र सुरक्षित स्थानान्तरण गर्न रास्वपाको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थवाङमा गएको भीषण पहिरोमा परी बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, घाइतेको निःशुल्क उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको पहिरोमा परी सात जनाको निधन भएको र पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतमा तीव्रता दिन सरकारसँग आग्रह गरिएको छ।
विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा पर्याप्त ध्यान नपुग्दा बर्सेनी नागरिकले अकालमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै विज्ञप्तिमा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र जोखिमयुक्त बस्तीहरूको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्न माग गरिएको छ ।
विपद्को समयमा सीमित स्रोतसाधनका बाबजुद उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीय नागरिकको प्रयासको प्रशंसा गर्दै रास्वपाले प्रभावित क्षेत्रमा निःशुल्क उपचार, उद्धार र राहतको एकीकृत व्यवस्था मिलाउन समन्वयकारी भूमिका खेल्न सरकारलाई आग्रह गरेको छ ।
अविरल वर्षाका कारण देशभरको जनजीवन र सडक सञ्जाल प्रभावित भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन पनि सर्वसाधारणमा अपिल गरिएको छ । साथै, विपद्पछिको उद्धार तथा राहत कार्यमा राज्यका संयन्त्रहरूलाई सघाउन रास्वपाले आफ्ना पार्टी पङ्क्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ ।









प्रतिक्रिया राख्नुहोस्