कोशी प्रदेशमा २० लाख ६३ हजार बढी नागरिक जीवन बीमाको दायरामा
विराटनगर । कोशी प्रदेशमा २० लाख ६३ हजार ७२५ जनाले जीवन बीमा गराएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशमा जीवन बीमाबाट २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन भएको छ ।

देशभर सङ्कलन हुने जीवन बीमा शुल्कमा कोशी प्रदेशको योगदान १२ दशमलव ३० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । प्रदेशमा बीमा सेवाको विस्तारसँगै बीमा कम्पनीका ३०३ वटा कार्यालय सञ्चालनमा रहेका छन् भने ७७१ कर्मचारी परिचालित छन् ।
यस्तै, निर्जीवन बिमातर्फ ४ लाख ४९ हजार ४ सय २७ वटा बीमा गरिएको छ । त्यसबाट कोशी प्रदेशमा ४ अर्ब बिमा शुल्क सङ्कलन भएको छ । जबकि कोशी प्रदेशमा जीवन बिमाबाट २६ अर्ब १६ करोड ५४ लाख सङ्कलन भएको छ भने निर्जीवन बिमाबाट ४ अर्ब मात्र बिमा शुल्क सङ्कलन भएको छ । जीवन बिमाभन्दा निर्जीवन बिमा गराउनेको संख्या यस प्रदेशमा निकै कम रहेको तथ्याङ्कले देखाएको छ । सङ्घीय तथा प्रदेशका कुनै पनि संरचना एवं सम्पत्तिको बिमा नहुँदा निर्जीवन बिमा गराउनेको सङ्ख्यामा कमी आएको तथ्याङ्कमा उल्लेख छ । संघ तथा प्रदेश सरकारले आफ्नो सम्पत्तिको बिमा नगराई रहेको अवस्था आम सर्वसाधारण आफ्नो सम्पत्तिको कसरी बिमा गराउँछन् भन्ने कुरा चासोको विषय रहेको छ ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक सचिन राइका अनुसार कोशी प्रदेशमा १९ हजार ९० वटा कृषि पशुपन्छी तथा जडीबुटी बीमा गरिएको छ ।
कृषि पशुपंक्षी तथा जडीबुटी बिमाबाट कोशी प्रदेशमा २३ करोड ६६ लाख रुपैयाँ बिमा शुल्क सङ्कलन भएको छ । त्यसमध्ये कोशी प्रदेशमा ६ सय ११ वटा मात्र बाली बिमा भएका छन् । जुन कार्यालयको लक्ष्य अनुसार निकै कम छ । नेपाल सरकारले कृषि बिमामा ५० देखि ८० प्रतिशत सम्म अनुदान दिँदै आएको छ । एक करोडको कृषि बिमामा ८० प्रतिशत र एक करोडभन्दा बढीको बिमामा ५० प्रतिशत अनुदान दिने व्यवस्था छ ।
उहाँले बीमासम्बन्धी जानकारी र यसको महत्व ग्रामीण तहसम्म पुर्याउन प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो ।
बिमा प्राधिकरण विराटनगर कार्यालय कोशी प्रदेशका निर्देशक राजेन्द्र महर्जनले नेपालमा हाल ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, दुई वटा पुनर्बीमा कम्पनी र सात वटा लघुबीमा कम्पनी रहेका छन् । प्राधिकरणले बीमा क्षेत्रको नियमनकारी कार्य, सुपरिवेक्षण, अर्धन्यायिक कार्य तथा प्रवर्द्धनात्मक कार्य गर्दै आएको महर्जनले बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कोशी प्रदेशका १ हजार २ सय २७ जना पत्रकारको दुर्घटना बीमा गरिएको जानकारी दिनुभयो । उहाँले कोशी प्रदेश सरकारले महासङ्घको समन्वयमा दुर्घटना बीमामार्फत प्रतिव्यक्ति १० लाख रुपैयाँसम्मको जोखिम रक्षा वरण हुने गरी पत्रकारको बिमा गरिएको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्