कास्कीमा उपभोक्ता अदालत स्थापना गर्न माग
पोखरा । उपभोक्ता अधिकार हननका घटनामा पीडितले सहज, छिटो र प्रभावकारी न्याय पाउने व्यवस्था गर्न कास्कीमा उपभोक्ता अदालत स्थापना गर्न सरोकारवालाले माग गरेका छन् । साथै, नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरण गर्न स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम र नागरिक सचेतनामा जोड दिइएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल र गण्डकी प्रदेश समितिको आयोजनामा पोखरामा भएको ‘उपभोक्ता अदालत स्थापना तथा नसर्ने रोग रोकथामसम्बन्धी नागरिक समाजको पैरवी’ विषयक अन्तर संवादमा यस्तो माग गरिएको हो । कार्यक्रममा जिल्ला अदालत कास्कीका न्यायाधीश देवकुमार गिरीले संविधानको धारा ४४, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा सर्वोच्च अदालतका फैसलाअनुसार उपभोक्तालाई शीघ्र न्याय दिन उपभोक्ता अदालतको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।
प्रादेशिक जनस्वास्थ्य केन्द्रका निमित्त निर्देशक डा. मधुरजी ढकालले गुलियो तथा प्रशोधित खाद्य पदार्थ र नुनको प्रयोग घटाउँदै नियमित व्यायाम, पर्याप्त निद्रा र स्वस्थ खानपानमा ध्यान दिन आग्रह गर्नुभयो । विद्यालय वरिपरि जङ्क फुड बिक्री नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ थियो । प्रादेशिक रोग नियन्त्रण केन्द्रका निर्देशक मनमोहन मिश्रले गण्डकीमा उच्च रक्तचाप, मधुमेह, हृदयरोग र क्यान्सरका बिरामी बढिरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले नागरिक समाजलाई सक्रिय बनाउँदै उपभोक्ता अदालतको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव शृङ्गऋषि काफ्लेले उपभोक्ता अदालतको भूमिका र क्षतिपूर्तिबारे सहजीकरण गर्नुभयो ।
मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्तालाई प्रभावकारी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालयका महानिर्देशक मोहनसिंह, गैसस महासङ्घ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतम, बार एसोसिएसन कास्कीका अध्यक्ष गणेशबहादुर आले, इन्सेकका गणेश भण्डारी, प्रदेश उपाध्यक्ष शान्ति गुरुङ, राष्ट्रिय मानव अधिकार आयोगकी नितु बर्तौला र मञ्च गण्डकीका अध्यक्ष पुण्यप्रसाद पौडेलले उपभोक्ता अधिकार, स्वास्थ्य तथा राज्यको जबाफदेहिताबारे धारणा राख्नुभयो । मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता ज्योति बानियाको अध्यक्षतामा भएको कार्यक्रममा तिमिल्सिनाले स्वागत तथा उपाध्यक्ष गुरुङले सञ्चालन गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्