तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा उभिन एमालेकाे ह्विप

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले विश्वासको मतको विपक्षमा उभिन ह्विप जारी गरेको छ । 

आज बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । प्रदेश सभा सदस्य सन्तोषी शर्मा थापाले विश्वासको मतको विपक्षमा उभिने निर्णय भएको जानकारी दिनु भयो । 

मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिनु हुँदै छ । विश्वासको मत प्रयोजनका लागि आज बेलुकी ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री शाहले आज सम्म प्रदेश सभाबाट विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

तत्कालीन सत्तागठबन्धन दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा रहेको छ । सरकार अल्पमतमा हुँदा चालू आर्थिक वर्षको बजेट समेत प्रदेश सभामा होल्ड रहेको छ । बजेट पारित नहुँदा प्रदेशमा बजेट शून्यताको अवस्था छ । 

५३ सदस्यीय (एक रिक्त) सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ आवश्यक पर्छ । यहाँ नेकपाको सभामुख सहित २२ जना छन् । जसमा १ जना निलम्बनमा परेका छन् । यस्तै नेपाली काँग्रेसका १८, नेकपा एमाले ११ र राप्रपा १ जना प्रदेश सभा सदस्य रहेका छन् ।

काँग्रेस र एमालेको सत्ता गठबन्धन टुटेपछि सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र नेकपा बिच सत्ता गठबन्धन बनेको छ । यहाँ नेकपाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button