चीनतर्फ पहिरो खस्दा भोटेकोसी नदी थुनिँदै, उच्च सतर्कता अपनाउन आग्रह
सिन्धुपाल्चोक । चीनतर्फको न्यालमस्थित झिम्मु पोस्टनजिकै ठूलो पहिरो खस्दा भोटेकोसी नदीको बहाव प्रभावित भएको छ।
भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोसी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको ठूलो पहिरो खसेको हो। पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने भोटेकोसी नदीको बहाव करिब आधा अवरुद्ध भएको जनाइएको छ।
नदीको बहाव प्रभावित भएकाले जुनसुकै बेला विपद्जन्य घटना निम्तिन सक्ने सम्भावना रहेको भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ।
विशेषगरी भोटेकोसी, बाह्रबीसे र बलेफी गाउँपालिकाअन्तर्गत नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान सशस्त्र प्रहरी बल लामोसाँघुले अनुरोध गरेको छ।








प्रतिक्रिया राख्नुहोस्