तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, उवास्थित कोटलबारा गाउँमा पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार राति करिब ८ः४० बजे अविरल वर्षासँगै माथिबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन्।

पहिरोमा परी थबाङ–५ की १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। पहिरोले पुरिएका कारण उनीहरूको तत्काल उद्धार गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ।

यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। घटनापछि उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button