तपाईँ सुन्दै हुनुहुन्छः

सुशील कोइराला र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच संस्थागत सहकार्य सम्झौता

बाँके । पश्चिम नेपालका क्यान्सरपीडित नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनबीच विशेषज्ञ मेडिकल अंकोलोजी सेवा तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

आज बिहीबार भएको सम्झौतामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराई र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रत्येक महिना दुई दिन योग्य तथा सम्बन्धित क्षेत्रमा दर्ता अनुमति प्राप्त मेडिकल अंकोलोजिस्ट उपलब्ध गराउनेछ । यस व्यवस्थाबाट पश्चिम नेपालका क्यान्सर बिरामीले विशेषज्ञ चिकित्सकको परामर्श तथा उपचार सेवा लिन भरतपुर वा अन्य टाढाका केन्द्रमा धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास गरिएको छ ।

उपलब्ध हुने विशेषज्ञ चिकित्सकले ओपिडी परामर्श, बिरामीको उपचार योजना निर्माण, किमोथेरापीको सुपरिवेक्षण, वार्ड राउन्ड, जटिल बिरामीको समीक्षा तथा आवश्यक विशेषज्ञ राय प्रदान गर्नेछन् । आवश्यकता अनुसार हेमाटो–अंकोलोजीलगायत सम्बन्धित विशेषज्ञ सेवा सञ्चालन र समन्वयमा समेत सहयोग गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौताले नियमित विशेषज्ञ सेवा उपलब्ध गराउने विषयसँगै दुई अस्पतालबीच दीर्घकालीन प्राविधिक, शैक्षिक तथा संस्थागत सहकार्यलाई समेत प्राथमिकता दिएको छ । यसअन्तर्गत संयुक्त ट्युमर बोर्ड सञ्चालन, टेलि–अंकोलोजी परामर्श, क्लिनिकल अनुसन्धान तथा नर्सिङ, प्राविधिक र प्यारामेडिकल जनशक्तिका लागि संयुक्त तालिम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

विशेषज्ञ सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आवश्यक ओपिडी कक्ष, क्लिनिकल पूर्वाधार, उपलब्ध मेडिकल उपकरण तथा सहयोगी जनशक्ति उपलब्ध गराउनेछ । अस्पतालले बिरामीको नाम दर्ता, प्रारम्भिक जाँच, आवश्यक रिपोर्ट तथा उपचारसम्बन्धी अभिलेख व्यवस्थित गर्ने जिम्मेवारीसमेत लिनेछ ।

त्यसैगरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सम्झौताबमोजिम प्रत्येक महिना दुई दिने सेवाका लागि दक्ष मेडिकल अंकोलोजिस्टको उपलब्धता सुनिश्चित गर्नेछ ।

सम्झौतामा बिरामीको हित, सुरक्षा, मर्यादा र गोपनीयतालाई सर्वोच्च प्राथमिकता दिइएको छ । उपचारसम्बन्धी निर्णय चिकित्सकीय व्यावसायिक मापदण्ड, उपलब्ध प्रमाण, अस्पतालको स्वीकृत उपचार प्रोटोकल तथा बिरामीको सूचित सहमतिका आधारमा गरिने व्यवस्था गरिएको छ । जटिल वा थप विशिष्ट उपचार आवश्यक पर्ने बिरामीलाई चिकित्सकीय आवश्यकता र बिरामीको हितअनुसार उपयुक्त विशेषज्ञ केन्द्रमा रेफर गर्न सकिनेछ ।

दुई अस्पतालबीचको सहकार्यले विशेषज्ञ चिकित्सकीय सेवासँगै ज्ञान, सीप, प्रविधि र अनुभव आदान–प्रदानको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ । यसबाट पश्चिम नेपालमा क्यान्सर उपचार सेवाको पहुँच विस्तार हुनुका साथै स्थानीय तहमा उपलब्ध उपचार प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईको नेतृत्वमा अस्पतालको सेवा विस्तार, सुदृढीकरण तथा संस्थागत विकासका कामलाई निरन्तरता दिइएको छ । विभिन्न सरोकारवाला निकायसँगको समन्वय, सहकार्य र साझेदारीमार्फत अस्पतालको क्षमता अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको अस्पतालले जनाएको छ ।

सम्झौताको कार्यान्वयन तथा व्याख्याका क्रममा कुनै विवाद वा अस्पष्टता उत्पन्न भएमा दुवै संस्थाका कार्यकारी निर्देशक वा तोकिएका प्रमुखहरूबीच आपसी छलफल र सद्भावका माध्यमबाट समाधान गर्ने व्यवस्था गरिएको छ । आपसी सहमतिबाट समाधान हुन नसके प्रचलित कानून तथा सम्बन्धित निकायको अधिकारक्षेत्रअनुसार समाधान गरिनेछ ।

सम्झौताको प्रमाणीकरणमा दुवै पक्षका विशेषज्ञ तथा प्रशासनिक अधिकारी साक्षी बसेका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका तर्फबाट पेडियाट्रिक अंकोलोजी विभागीय प्रमुख डा। सुवास मेहता तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट मेडिकल अंकोलोजी विभागीय प्रमुख डा। गुरु शरण साह साक्षी रहनुभएको छ । त्यसैगरी वरिष्ठ प्रशासनिक अधिकृत श्री गृहि महतो पनि साक्षीका रूपमा रहनुभएको छ ।

दुई विशिष्टीकृत क्यान्सर अस्पतालबीचको यो सहकार्यले पश्चिम नेपालका नागरिकलाई विशेषज्ञ क्यान्सर उपचार सेवा आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्ने अवसर सिर्जना गर्नुका साथै क्यान्सर उपचारमा आवश्यक विशेषज्ञ जनशक्ति, प्रविधि र ज्ञानको आदान–प्रदानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button