बैतडीको सुर्नयामा पहिरो: ७ घर उच्च जोखिममा
बैतडी। बैतडीको सुर्नया गाउँपालिका–८ रातापानी टोलमा पहिरोका कारण ७ घरधुरी उच्च जोखिममा परेका छन्।
मङ्गलवार साँझ करिब ७ बजे खसेको पहिरोले स्थानीय बस्ती र खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको हो।

पहिरोका कारण स्थानीय मिना बोहरा, चक्र बोहरा, गम्भीर बोहरा, रामसिंह बोहरा, धनुवा बोहरा, उदय बोहरा र कृष्ण बोहराको घर जोखिममा परेको सुर्नया–८ का वडा अध्यक्ष भानबहादुर बोहराले जानकारी दिनुभयो।

पहिरोले करिब ३० रोपनी खेतीयोग्य जमिन पुरेको छ भने पोल र पाइपलाइनमा क्षति पुग्दा विद्युत् तथा खानेपानी सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो निरन्तर खसिरहेकाले स्थानीय बासिन्दा त्रसित बनेका छन्।
“हिजो साँझको पहिरोले विद्युत् र खानेपानी सेवा अवरुद्ध बनाएको छ, पहिरो निरन्तर गइरहेकाले हामी विस्थापित हुने अवस्थामा पुगेका छौँ,” स्थानीय रामसिंह बोहराले भन्नुभयो।
रातापानी क्षेत्रमा विक्रम संवत् २०७७ देखि लगातार पहिरो खस्दै आएको छ। पहिरोकै कारण यसअघि नै एक परिवार विस्थापित भइसकेका छन्। जमिन ठाउँ–ठाउँमा चर्किएकाले जुनसुकै बेला ठूलो पहिरो खस्न सक्ने जोखिम छ।

हरेक वर्षायाममा पहिरोको सास्ती खेप्नुपरेकाले दीर्घकालीन रूपमा सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको वडा अध्यक्ष बोहराको भनाइ छ। “अहिले जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्नेछ, तर दीर्घकालीन समाधानका लागि बस्ती नै स्थानान्तरण गर्नुपर्छ,” उहाँले भन्नुभयो।

प्रभावित परिवारको तत्काल उद्धार, राहत तथा दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित निकायले शीघ्र कदम चाल्नुपर्ने माग स्थानीयले गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्