तपाईँ सुन्दै हुनुहुन्छः

दुई वर्षदेखि रूमखोला जलविद्युत् बन्द, पाँच सय घरधुरी अँध्यारोमा

मुगु । मुगुको सोरू गाउँपालिका–८ रूममा रहेको रूमखोला लघु जलविद्युत् आयोजना करिब दुई वर्षदेखि बिग्रिएर बन्द हुँदा करिब पाँच सय घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्।

सोरू गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको संयुक्त लगानीमा २०७८ सालमा निर्माण गरिएको ३५ किलोवाट क्षमताको आयोजना बिग्रिएपछि लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन। आयोजना बन्द हुँदा रूमसहित तारापानी, गिलाहा, कच्चे, सिप, नुवाकोटलगायतका बस्ती प्रभावित भएका छन्।

विद्युत् सेवा बन्द भएपछि आर्थिक अवस्था राम्रो भएका परिवारले सोलार बत्ती प्रयोग गरिरहेका छन् भने विपन्न परिवार झरो र दियालोको भरमा रात बिताउन बाध्य छन्। विद्युत् अभावका कारण विद्यार्थीको पढाइ तथा स्थानीयको दैनिक जनजीवनमा समेत असर परेको स्थानीयवासीले बताएका छन्।

रूम गाउँ धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेकाले विद्युत् अभावले यहाँ आउने धार्मिक पर्यटकसमेत प्रभावित भएका छन्।

स्थानीयवासीले तत्काल आयोजना मर्मत गरी नियमित विद्युत् सेवा सञ्चालन गर्न माग गर्दै आएका छन्। तर, सोरू गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाहीले मर्मतका लागि पहल नभएको भन्ने कुरा निराधार रहेको बताउनुभएको छ। उहाँका अनुसार गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अहिले मर्मतको काम गरिरहेको छ।

अध्यक्ष शाहीले मर्मत कार्य अन्तिम चरणमा पुगेको र एक महिनाभित्र विद्युत् सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button