प्रतिनिधि सभा: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसदहरूले मंहगी, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण, विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य, आपूर्ति व्यवस्था, सुशासनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले बजारमा देखिएको एलपी ग्याँसको अभाव, खाद्यान्न, तरकारी फलफूलमा देखिएको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमनको माग गर्नुभयो ।
सांसदहरुले किसानका लागि समयमा मल, सिँचाइ उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा समस्या देखिएको चन्दै सहजरुपमा मल आपूर्ति र वितरणको व्यवस्था गर्न माग गर्नुभयो ।
सार्वजनिक यातायातको सुधारका लागि प्रविधिको प्रयोग र जिपिएस प्रणाली अनिवार्य गर्नुपर्ने, राष्ट्रिय परिचयपत्र वितरणमा देखिएका प्राविधिक समस्या समाधान गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
सांसदहरुले आर्थिक क्षेत्रको सुधार र निजी क्षेत्रको आत्मविश्वास बढाउन नीतिगत स्थिरता र लगानी सुरक्षामा जोड दिनुभयो ।
उहाँहरूले बीमा अन्तर्गतका औषधिको उपलब्धतालाई प्रभावकारी बनाउनुपर्ने र निःसन्तान दम्पतीका लागि आइभीएफ सेवालाई व्यवस्थित बनाउने स्पष्ट कानुन बनाउनुपर्ने बताउनुभयो ।
सांसदहरूले संसदमा हुने बहस नीति र विकास केन्द्रित हुनुपर्ने भन्दै व्यक्तिगत पहिरन र सतही विषयमा टीकाटिप्पणीमा अल्झिन नहुने तीनै तहका सरकारबिच समन्वयको अभावमा नागरिकलाई प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरुले ग्रामीण भेगमा सडक विस्तारको अभावमा मानिसहरूले कष्टकर जीवन बिताउन बाध्य रहेको तथा स्वास्थ्य शिक्षा लगायतबाट वञ्चित हुन परिरहेको भन्दै समस्या समाधानका लागि पहल गर्न माग गर्नुभयो ।
सांसदहरुले धार्मिक वा जुनसुकै नाम हुने हिंसात्मक कार्यले क्षति हुने भएकाले यस्ता कार्य रोक्न सरकारको ध्यानाकर्षण गराउँदै सुनसरी र तराई मधेश घटनाका विषयमा निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको माग गर्नुभयो ।
सांसदहरुले जनताको अपेक्षा अनुसार काम गर्न प्रभावकारी सेवा प्रवाह प्रदान गर्न र नागरिकको सुरक्षाका लागि प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, कानुनी अधिकार र जीविकोपार्जनका सवालमा राज्यको उपस्थिति प्रभावकारी बनाउन राज्यले कूटनीतिक सक्रियता बढाउनु पर्ने बताउनुभयो ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहलाई लामो समयदेखि संसदमा उपस्थित हुन माग गरिरहेको भएपनि प्रधानमन्त्री सदनमा उपस्थित नभएको तथा उपस्थित हुँदा समेत राष्ट्रिय पोशाक र संसद्को मर्यादा कायम राख्ने कुरामा चुकेको आरोप लगाउनुभयो ।
यसैबीच, प्रतिनिधिसभाको आजको बैठकको सुरुमा पनि प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै विरोध गर्नुभयो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्ति अविलम्ब फिर्ता लिन र सच्याउन माग गर्दै गत जेठ १७ गतेदेखि सदनमा विरोध गर्दै आउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्