तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोट–मुगु प्रसारण लाइनको तार चुडिँदा मुगुमा विद्युत् सेवा अवरुद्ध, २८ सयभन्दा बढी घरधुरी प्रभावित

मुगु । कालिकोट–मुगु ११ केभी प्रसारण लाइनअन्तर्गत कालिकोटको सेराबाडा नजिक प्रसारण लाइनको तार चुडिँदा गएरातिदेखि मुगुमा केन्द्रीय विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।

गमगाड वितरण केन्द्रका अनुसार तार चुडिएपछि केन्द्रबाट वितरण हुँदै आएको विद्युत् सेवा बन्द भएको हो। विद्युत् आपूर्ति अवरुद्ध हुँदा मुगु जिल्लाका करिब २८ सयभन्दा बढी घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

विद्युत् सेवा बन्द भएसँगै सर्वसाधारणको दैनिक जनजीवन, सरकारी तथा निजी कार्यालय, सञ्चार सेवा, व्यवसाय तथा विद्युत्मा निर्भर अन्य गतिविधिसमेत प्रभावित बनेका छन्।

वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार समस्या समाधानका लागि प्राविधिक टोली मर्मत कार्यमा खटिएको छ। मर्मत कार्य सम्पन्न नभएसम्म केन्द्रीय प्रसारण लाइनमार्फत हुने विद्युत् आपूर्ति अवरुद्ध रहने जनाइएको छ।

वितरण केन्द्रले मर्मत कार्य सम्पन्न भएपछि विद्युत् सेवा पुनः नियमित रूपमा सञ्चालनमा आउने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button