तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सद्भाव कायम राख्न सुदूरपश्चिमका मुख्यमन्त्री शाहको अपिल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गर्नुभएको छ।

आज (शनिबार) धनगढीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलमा मुख्यमन्त्री शाहले सामाजिक सद्भाव कायम राख्न र गराउन प्रदेशका सबै जिल्लामा सद्भाव र्‍याली आयोजना गर्न निर्देशन दिनुभयो। साथै, उहाँले मातहतका निकायलाई शान्ति सुरक्षाको व्यवस्था थप मजबुत बनाउन सख्त निर्देशन दिनुभएको छ।

पूर्वी तराईका विभिन्न जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिको आकलन गर्दै सुदूरपश्चिम प्रदेशमा पर्न सक्ने सम्भावित सुरक्षा जोखिमप्रति सचेत रहन मुख्यमन्त्री शाहले आग्रह गर्नुभयो। उहाँले शान्ति सुरक्षामा खलल पुग्ने गरी हुन सक्ने कुनै पनि स्थितिलाई तत्काल नियन्त्रणमा लिन पूर्वसुरक्षा तयारी चुस्त राख्न सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो।

यसैगरी, मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्प्रति उच्च सतर्कता अपनाउन र विपद् व्यवस्थापनका लागि सधैँ तयारी अवस्थामा रहन सम्बद्ध निकायलाई मुख्यमन्त्री शाहले ध्यानाकर्षण गराउनुभयो।

उक्त छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button