तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोसी बाढीपछि उदयपुरका ८ जना सम्पर्कविहीन

उदयपुर I भोटेकोसी नदीमा आएको भीषण बाढीपछि उदयपुर घर भएका ८ जना व्यक्ति परिवार तथा आफन्त सम्पर्कमा आउन नसकेको जनाइएको छ।

उदयपुरका विभिन्न स्थानीय तहका उनीहरू रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा रहेका बेला बाढी आएपछि सम्पर्कविहीन भएका हुन्। सञ्चार तथा यातायात सम्पर्क प्रभावित हुँदा उनीहरूको अवस्थाबारे तत्काल यकिन हुन नसकेको बताइएको छ।

सम्पर्कविहीन हुनेमा त्रियुगा नगरपालिका–१४ का चन्द्र माझी, भेषराज माझी र मिलन माझी रहेका छन्। परिवारका अनुसार उनीहरू रसुवाबाट सम्पर्कविहीन भएका हुन्। तीनै जना एकै परिवारका सदस्य हुन्।

त्यस्तै त्रियुगा नगरपालिका–४ का देवेन्द्र घिमिरे त्रिशूली हाइड्रोपावर–३ बी क्षेत्रबाट सम्पर्कविहीन भएका छन्।

त्रियुगा नगरपालिका–९ का कुशल कार्की गोसाइँकुण्ड जाने क्रममा सम्पर्कविहीन भएको बताइएको छ।

यसैगरी कटारी नगरपालिका–५ का बुद्धिमान नेपाली रसुवा बजारमा ग्यारेजमा काम गर्दै आएका थिए। उनी पनि बाढीपछि परिवारको सम्पर्कमा आउन नसकेको जनाइएको छ।

त्रियुगा नगरपालिका–१० का मनिका विश्वकर्मा र रियाज विश्वकर्मा नुवाकोटको वेग्रावती क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। उनीहरू आमा–छोरा हुन्।

भोटेकोसी बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको तथा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे तत्काल आधिकारिक जानकारी प्राप्त हुन कठिन भएको छ।

सम्बन्धित परिवार तथा आफन्तले सम्पर्कविहीनहरूको अवस्था तत्काल पत्ता लगाई खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

यता, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईँले अहिलेसम्म कुनै पनि परिवारले आफ्ना आफन्त सम्पर्कविहीन भएको विषयमा कार्यालयमा आधिकारिक जानकारी नगराएको बताउनुभएको छ।

त्यस्तै उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले सामाजिक सञ्जालमार्फत उदयपुरका केही व्यक्ति सम्पर्कविहीन भएको जानकारी पाएपछि रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लास्थित सुरक्षा निकायसँग समन्वय गरी उनीहरूको अवस्थाबारे आधिकारिक जानकारी लिने प्रयास भइरहेको बताउनुभएको छ।

सम्पर्कविहीन भनिएका व्यक्तिहरूको अवस्थाबारे आधिकारिक विवरण प्राप्त भएपछि थप जानकारी सार्वजनिक गरिने प्रशासनले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button