तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतको लेकवेशीमा जिप दुर्घटना: १२ जना घाइते, ४ को अवस्था गम्भीर

सुर्खेत। सुर्खेतको लेकवेशी नगरपालिकास्थित हलकन्डराको उकालोमा जिप अनियन्त्रित भई दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

घाइतेमध्ये लेकवेशी नगरपालिका–६, की २२ वर्षीया सुष्मा कार्की,  सोही ठाउँकी २६ वर्षीय तिल्सरा सिरिस, ७० वर्षीया अमृता कार्की र ७० वर्षीया खगिसरा विकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेहरूको जिल्ला सदरमुकाम वीरेन्द्रनगर स्थित माया नर्सिङ होममा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार आज (मंगलबार) दिउँसो लेकवेशी नगरपालिकाको डाँडागाउबाट  दशरथपुर तर्फ आउँदै गरेको भे. १ ख ५४० नम्बरको यात्रुवाहक मुस्ताङ जिप पालिकाको वडा नम्बर ५ र ६ को वीचमा पर्ने हलकन्डराको उकालोमा आफै अनियन्त्रित भई सडकमा पल्टिँदा चालकसहित १२ जना घाइते भएका हुन् ।

अन्य घाइतेमध्ये चार जनाको अवस्था मध्यम र चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button