तपाईँ सुन्दै हुनुहुन्छः

हाटबजार नहुँदा सडकमै तरकारी बेच्न बाध्य मुगुका महिला किसान

मुगु। मुगुको सदरमुकाम गमगढीमा व्यवस्थित हाटबजार नहुँदा स्थानीय किसान तथा तरकारी व्यवसायीहरू सडक किनारमै व्यापार गर्न बाध्य भएका छन्।

बजार क्षेत्रमा छुट्टै तरकारी हाट सञ्चालनमा नआउँदा दैनिक उपभोग्य तरकारी खुला सडक र पेटीमै राखेर बिक्री–वितरण गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूको गुनासो छ।

गमगढी बजारका मुख्य सडक तथा चोकहरू—मिलन चोक, अदालत चोक, कृष्ण चोक र न्युरोडका सडक पेटीमा स्थानीय स्तरमा उत्पादित आलु, काँक्रो, बन्दा, काउली, गोलभेँडा, साग लगायतका तरकारीहरू राखेर बिक्री भइरहेको छ। सडकमै व्यापार गर्दा बजारको सौन्दर्य बिग्रिनुका साथै पैदलयात्री र सवारी साधन सञ्चालनमा समेत असहजता हुने गरेको स्थानीय बताउँछन्। कतिपय किसानहरू भने डोकोमै तरकारी बोकेर बजारभरि घुमाएर बेच्न बाध्य छन्।

छायाँनाथ रारा नगरपालिका–४ की स्थानीय तरकारी उत्पादक कृषक पञ्चदेवी खड्काका अनुसार विशेषगरी वर्षायाममा सडकमै तरकारी बेच्नुपर्दा पानी, धुलो र हिलोका कारण उत्पादनको गुणस्तर खराब हुने गरेको छ। उपयुक्त स्थान र आधारभूत पूर्वाधारको अभावमा आफ्ना उत्पादन सुरक्षित रूपमा बिक्री गर्न नपाएको उनको गुनासो छ।

स्थानीयवासी तथा किसानहरूले गमगढीमा तत्काल व्यवस्थित तरकारी हाटबजार निर्माण गरी सुरक्षित तथा सहज व्यापारिक वातावरण मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका छन्। हाटबजार सञ्चालनमा आए स्थानीय कृषि उत्पादनको बजारीकरण सहज हुने र उपभोक्ताले पनि स्वच्छ वातावरणमा ताजा तरकारी खरिद गर्न पाउने उनीहरूको विश्वास छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button