तपाईँ सुन्दै हुनुहुन्छः

मेला नजिकिएसँगै बडिमालिकामा पर्यटकीय चहलपहल बढ्दै

बाजुरा।सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बडिमालिका मन्दिरमा यस वर्षको वार्षिक मेला नजिकिएसँगै तीर्थयात्री तथा पर्यटकको चहलपहल बढ्न थालेको छ।

हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) विशेष मेला लाग्ने बडिमालिकामा यस वर्ष भने भदौ ११ गते (साउन शुक्ल चतुर्दशी) का दिन मेला पर्ने भएकाले दैनिक रूपमा दर्जनौँ भक्तजन दर्शनका लागि उक्लिन थालेका छन्।

बाजुराको उत्तरी क्षेत्रमा समुद्री सतहदेखि करिब ४,२०० मिटरको उचाइमा अवस्थित बडिमालिका सुदूरपश्चिमकै महत्त्वपूर्ण शक्तिपीठका रूपमा परिचित छ। शक्तिस्वरूपा देवी बडिमालिकाको वासस्थलका रूपमा श्रद्धालुहरूले पूजा गर्ने यस मन्दिरमा दर्शन गर्नाले मनोकामना पूरा हुने, रोगव्याधि हट्ने तथा घरपरिवारमा सुख–शान्ति कायम हुने धार्मिक जनविश्वास रहँदै आएको छ।

बडिमालिका नगरपालिका–५ की स्थानीय निर्मला दानी साउँदका अनुसार अहिले दैनिक दर्जनभन्दा बढी आन्तरिक पर्यटक तथा श्रद्धालुहरू बडिमालिका यात्राका लागि निस्किरहेका छन्। “अहिले नै दर्शन गर्न आउनेहरूको सङ्ख्या बढ्दै गएको छ। मेला नजिकिँदै जाँदा यो सङ्ख्या अझ धेरै बढ्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो।

प्राकृतिक सौन्दर्य र धार्मिक आकर्षण
बडिमालिकाको प्राकृतिक सौन्दर्य, विशाल हरियाली पाटन, रङ्गीचङ्गी फूलहरू, मनोरम हिमशृङ्खला र धार्मिक महत्त्वले यहाँ पुग्ने जोकोही पर्यटकलाई लोभ्याउने गरेको छ। मेलाको समयमा बाजुरा, अछाम, कालिकोट, दैलेख, डोटी, बझाङ लगायतका जिल्लाहरूका साथै छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन्। पूजाआजा, धार्मिक अनुष्ठान र सांस्कृतिक गतिविधिले मेलालाई थप आकर्षक बनाउने गर्दछ।

सञ्चार सेवा प्रभावकारी बनाउने तयारी
बडिमालिका क्षेत्रमा मेला सुरु हुनुअघि नै सञ्चार सेवा प्रभावकारी बनाउने तयारी पनि तीव्र पारिएको छ। सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले बडिमालिका क्षेत्रमा मेला लाग्नुअघि नै मोबाइल तथा इन्टरनेट सेवा सहज रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

सञ्चार सुविधा विस्तार भएसँगै तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दालाई सूचना आदानप्रदान र आपत्कालीन अवस्थामा उद्धार तथा सहयोग पाउन थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button