तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा १५० बस्ती बाढी–पहिरोको उच्च जोखिममा, ११५ बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने

बाजुरा। बाजुराका नौवटै स्थानीय तह बाढी–पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार जिल्लाका करिब १५० बस्ती उच्च जोखिममा छन् भने तीमध्ये ११५ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ।

भिरालो भू–बनोट, कमजोर भौगोलिक संरचना, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको प्रभावका कारण जिल्लाभर विपद्को जोखिम बढ्दै गएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो।

उहाँका अनुसार बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका दर्जनौँ बस्ती उच्च जोखिममा छन्।

बुढीगंगा नदीको तीव्र कटानका कारण बडीमालिका, बुढीगंगा, त्रिवेणी र गौमुलका सयौँ परिवारको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार बाम्का बजारसमेत नदी कटानको उच्च जोखिममा रहेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार २०७७ यता बाढी–पहिरोलगायत प्राकृतिक विपद्का घटनामा ६२ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन्। यस अवधिमा ७२५ परिवार विस्थापित भएका छन्। साथै, १,७२८ रोपनी खेतीयोग्य जमिन बगेको छ भने करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको समितिले जनाएको छ।

स्थानीय तहहरूले जोखिमयुक्त बस्तीको स्थानान्तरण, नदी नियन्त्रण, पहिरो व्यवस्थापन, व्यवस्थित सडक निर्माण तथा प्रभावकारी पूर्वसूचना प्रणालीमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रमुख जिल्ला अधिकारी निरौलाले प्राकृतिक विपद्लाई पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै पूर्वतयारी, जनचेतना र प्रभावकारी प्रतिकार्यका माध्यमबाट जनधनको क्षति उल्लेखनीय रूपमा न्यूनीकरण गर्न सकिने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button