तपाईँ सुन्दै हुनुहुन्छः

इलाम–झापा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद

इलाम । केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गअन्तर्गत माइखोलास्थित राजदुवाली सडक खण्ड विगत १५ दिनदेखि बन्द भएपछि त्यसको सास्ती मेची पहाडका सर्वसाधारणले व्यहोर्दै आएका छन्।

अहिले इलामबाट झापा जानका लागि भरपर्दो कुनै पनि सडक सञ्चालनमा छैन। राजमार्गको वैकल्पिक रूपमा रहेका केचना–कञ्चनजङ्घा सडक र तिल्केनी–सिमल गोलाई सडकको बीचमा पर्ने पुवा खोला र जोगमाई खोलामा बनाइएका डाइभर्सनहरू बाढीले बगाउँदा मेची पहाडी भेगका बासिन्दाले थप सास्ती भोग्नुपरेको छ।

यी खोलाहरूमा बाढी घटेपछि अस्थायी डाइभर्सन निर्माण गरिए पनि पुनः बाढी आउनासाथ बगाउने गरेकाले समस्या जटिल बन्दै गएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर अर्जुन घिमिरेले बताउनुभयो। राजदुवाली सडक खण्डमा भने खोला क्षेत्रमा पर्खाल लगाउने काम भइरहेको र माथिबाट सडक भासिएर झरिरहेकाले तत्काल राजमार्ग खुल्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो।

राजमार्गसहित वैकल्पिक सडकहरू अवरुद्ध भएपछि इलाम–झापा आवतजावतका लागि बिरामीलाई स्ट्रेचरमा बोकेर पहिरो पार गराउनुपर्ने बाध्यता सिर्जना भएको छ। यात्रुहरू जोखिमपूर्ण रूपमा पहिरो क्षेत्रमा पैदल यात्रा गर्न बाध्य छन्। यता वैकल्पिक मार्ग हुँदै ताप्लेजुङसम्मका लागि छुटेका मालवाहक सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन्।

सडक ठप्प भएपछि इन्धन, खाना पकाउने ग्याससहित दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ। इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालका अनुसार सडक अवरोधका कारण ढुवानी प्रभावित हुँदा बजारमा वस्तुको आपूर्ति घट्दै गएको छ।

“अहिले इन्धन, ग्याससहितका दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन थालेको छ,” अध्यक्ष पौड्यालले भन्नुभयो, “भित्रिएका दैनिक उपभोग्य सामग्रीहरूमा पनि अत्यधिक ढुवानी खर्च जोडिएकाले उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको अवस्था छ।” यदि यस्तै अवस्था रहिरहे नागरिकहरू आफैँ आन्दोलित हुनुको विकल्प नरहने उहाँको भनाइ छ।

वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमल गोलाई–बेलासे फास्ट ट्र्याकमा पनि पुल निर्माण नहुँदा समस्या झन् जटिल बनेको छ। सडक सञ्चालनमा रहे पनि खोलामा पुल नहुँदा मालवाहक सवारीसाधन तथा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू बीच बाटोमै अलपत्र परेका छन्। दैनिक उपभोग्य वस्तु, इन्धन तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन गन्तव्यसम्म पुग्न नसक्दा मेची पहाडी क्षेत्रको आपूर्ति प्रणाली नै प्रभावित बनेको छ।

यता,सडक अवरोधको प्रत्यक्ष असर दुग्ध किसानहरूमा पनि परेको छ। इलामको बिब्ल्याटे चिस्यान केन्द्रमा दैनिक सङ्कलन हुने करिब १ हजार लिटर दूध ढुवानी हुन नसक्दा अलपत्र परेको छ। दूध बिक्री गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू यतिबेला सबैभन्दा बढी मारमा परेका छन्।

बिब्ल्याटे चिस्यान केन्द्रका प्रमुख मुन्टुकुमार ठाकुरका अनुसार सडक अवरुद्ध र ढुवानीको समस्या समाधान नभएसम्म दूध सङ्कलन गर्न नसकिने अवस्था आएको छ। “ढुवानीको समस्या भएकाले अब बाटो नखुलेसम्म दूध सङ्कलन गर्न सकिँदैन,” उहाँले भन्नुभयो, “दैनिक सङ्कलन हुने दूध बाहिर पठाउन नसक्दा किसानहरूलाई ठूलो क्षति हुने अवस्था छ।”

सडक सञ्चालनमा नआएसम्म किसानहरूको उत्पादन बजारसम्म पुग्ने सम्भावना नरहेको भन्दै स्थानीयहरूले तत्काल वैकल्पिक सडक मर्मत तथा राजमार्ग सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। लगातारको वर्षासँगै सडक सञ्जाल पूर्ण रूपमा प्रभावित हुँदा मेची पहाडी क्षेत्रका सर्वसाधारण, व्यवसायी र किसानहरू एकैसाथ सङ्कटमा परेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button