बाँकेमा ६० प्रतिशत धान रोपाइँ
नेपालगञ्ज । बाँके जिल्लामा शुक्रवारसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब ३३ हजार ७ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म २० हजार २ सय ६८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ । केही दिनयताको वर्षापछि रोपाइँले गति लिए पनि आकाशे पानीमा निर्भर क्षेत्रहरूमा अझै रोपाइँ बाँकी रहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा. विनोद घिमिरेका अनुसार जिल्लामा सिक्टा सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र तथा अन्य सिँचाइ सुविधा पुगेका स्थानमा अधिकांश किसानले रोपाइँ सम्पन्न गरिसकेका छन् । तर, वर्षाको भर पर्नुपर्ने क्षेत्रहरूमा पर्याप्त पानी नपुग्दा रोपाइँ अझै पूरा हुन सकेको छैन ।
उहाँका अनुसार बाँकेमा सामान्यतया असार दोस्रो सातादेखि धान रोपाइँ सुरु भई भदौ पहिलो सातासम्म चल्ने गर्छ । यस वर्ष मनसुन ढिलो सक्रिय भएकाले रोपाइँ केही ढिलो सुरु भए पनि पछिल्ला दिनमा परेको वर्षाले किसानलाई राहत पुगेको छ ।
सिक्टा सिँचाइ आयोजनाको प्रभाव क्षेत्र रहेका राप्तीसोनारी, कोहलपुर र बैजनाथमा रोपाइँको प्रगति उत्साहजनक देखिएको छ भने जानकी गाउँपालिका, डुडुवा गाउँपालिका लगायत आकाशे पानीमा निर्भर क्षेत्रहरूमा रोपाइँ अपेक्षाकृत सुस्त छ ।
किसानहरूका अनुसार पछिल्ला केही दिनको वर्षाले खेतमा पर्याप्त चिस्यान पुगेपछि रोपाइँले गति लिएको छ । मौसम अनुकूल रही नियमित वर्षा भइरहे साउनभित्रै अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ ।
कृषि ज्ञान केन्द्रले समयमै पर्याप्त वर्षा हुने र बाढी–डुबानको समस्या नआए यस वर्ष धान उत्पादन पनि सन्तोषजनक रहने विश्वास व्यक्त गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्