तपाईँ सुन्दै हुनुहुन्छः

भेनेजुयलाः भूकम्पको भग्नावशेषबाट चार हप्तापछि बिरालोको उद्धार

A man jumps on a collapsed building after an earthquake in Caracas, Venezuela, Wednesday, June 24, 2026. (AP Photo/Adrian Naranjo)

भेनेजुएला । भेनेजुएलामा शनिबार एक बिरालोलाई भत्किएको आवासीय भवनको भग्नावशेष मुनिबाट कमजोर अवस्थामा उद्धार गरिएको छ । उद्धारकर्ताले यसलाई मृत्यु भएको भूकम्पपछिको अवस्थामा थप जीवनको लागि ‘आशाको किरण’ भनेका छन्।

गत जुन २४ मा दक्षिण अमेरिकी राष्ट्रमा आएका लगातारका भूकम्पबाट पाँच हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । भूकम्पका कारण तटीय राज्य ला गुएरा सबैभन्दा बढी प्रभावित भएको थियो ।

स्वयंसेवी उद्धारक आन्द्रेस कार्भाजालले ला गुएराको एक आवासीय भवनमा खोजी गर्दा उक्त बिरालो भेटिएको थियो । बिरालो भेटिएको भवन पूरै भग्नावशेषमा परिणत भएको थियो ।

“हामीले बिरालोलाई देख्यौँ, तर यो डराएर भवनभित्र थप गहिरो भागमा गएको थियो,” कार्भाजालले एएफपीलाई बताउनुभयो । यो कहिले फसेको हो भन्ने स्पष्ट छैन । 

“म गएँ, मेरो पन्जा खोलेँ र मेरो हातमा बिरालोको खाना राखेँ । यसले बिस्तारै नजिक आयो र अत्यन्तै हतास भएर खायो,” विश्वविद्यालयका २१ वर्षीय छात्र कार्भाजालले भन्नुभयो । 

कार्भाजालले भेनेजुयली भाषामा ‘एल गाटो’ अर्थात् बिरालो लेखिएको हेलमेट लगाउने गर्नुभएको थियो र संयोगबस उहाँले नै बिरालोलाई करिब एक महिनापछि भग्नावशेषबाट निकाल्ने सौभाग्य मिलेको छ । उहाँले यो आफ्नो बाल्यकालदेखिको उपनाम भएको बताउनुभयो । 

उहाँ काराकासस्थित भेनेजुएला केन्द्रीय विश्वविद्यालयका अन्य विद्यार्थीहरूले उद्धार कार्यमा सहयोग गर्नका लागि गठन गरेको एक समितिका प्रमुख पनि हुनुहुन्छ । 

उद्धार भएपछि उक्त बिरालोलाई भेटेरिनरी चिकित्सकहरू तयारी अवस्थामा रहेको सानो क्याम्पमा हस्तान्तरण गरियो। त्यहाँ यसलाई तरल पदार्थ खान दिइयो र सफा गरियो, त्यसपछि यसका वासस्थानतर्फ पठाइयो ।

“हामीले यसलाई फेला पारेकोमा म निकै खुसी छु,” कार्भाजालले भन्नुभयो । 

उहाँले भन्नुभयो, “यहाँ रहेको कुनै पनि जीवनप्रति सहानुभूति नहुन असम्भव छ । यो सानो बिरालोको उद्धारले साङ्केतिक रूपमा भग्नावशेषमा अझै पनि जीवितहरूलाई फेला पार्ने ‘आशा’ मरिनसकेको पुष्टि गर्छ । उद्धार प्रयासलाई निरन्तरता दिन प्रोत्साहन गर्छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button