स्रोत नखुलेको साढे पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
रौतहट। रौतहटको गौर भन्सार कार्यालय नजिक स्रोत नखुलेको नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार साँझ गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियमित चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको सार्वजनिक अटो रिक्सामा सवार भारतको बिहार राज्य, सितामढी जिल्ला बैरगनिया निवासी ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उहाँको शरीर खानतलासी गर्दा खुट्टामा लगाएको मोजाभित्र लुकाइछिपाइ राखिएको स्रोत नखुलेको नेपाली पाँच लाख ५० हजार रुपैयाँ फेला पारेको जनाएको छ । बरामद रकममध्ये एक हजार दरका ४९५ थान र पाँच सय दरका ११० थान नोट रहेका छन् । साथै भारतीय चार हजार ८० रुपैयाँ र भिभो कम्पनीको एक थान मोबाइल फोन पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा जयसवालले यसअघि पनि निश्चित पारिश्रमिक लिएर ‘भरिया’का रुपमा नेपालतर्फ रकम ओसारपसार गर्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्