तपाईँ सुन्दै हुनुहुन्छः

झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

भद्रपुर, झापा। झापामा एकैदिन छुट्टाछुट्टै दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्जमा कारमा ठोक्किएर मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो १ बजे गौरीगञ्ज–२ कृष्णे खोलाछेउ हुलाकी राजमार्गमा पश्चिम विराटनगरबाट पूर्व तुलाचन चोकतर्फ आउँदै गरेको प्र १–०२–००२ च ५१०१ नं. को कार र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३८ एच ५५४७ नं. को मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकल चालक मोरङ रतुवामाई ५ गोबिन्दपुर बस्ने ३० वर्षीय मोहम्मद नुर इस्लाम र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको हो ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले कार नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेको छ भने कार चालक विराटनगर १३ बस्ने ३५ वर्षीय विवेक सिंह घाइते भई विराट नर्सिङ होम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी,  झापामा करेन्ट लागेर दुईजनाको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार कचनकवल र गौरादहमा दुईजना युवकको करेन्ट लागेर ज्यान गएको हो । गएराति अन्दाजी ९ बजे कचनकवल गाउँपालिका ३ पाँचबिगे बस्ने २४ वर्षीय कमल गदाइलीलाई आफ्नै बारीमा जङ्गली हात्ती रोकथामका लागि राखिएको करेन्ट अचानक लागेको थियो । घाइते गदाइलीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याइएकोमा चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । 

यस्तै बिहीबार साँझ ७;४५ बजे गौरादह ६ बीरबल चोक बस्ने २५ वर्षीय बिनोद शर्माले आफ्नै घरको फलामको स्टेण्ड भएको पङ्खा चलाउनेक्रममा उनलाई अचानक करेन्ट लागेको थियो । उनको उपचारको क्रममा स्थानीय लाइफलाइन अस्पतालमा राति ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button