तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा वडाध्यक्षसहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता

महोत्तरी। महोत्तरीको बलवा नगरपालिका–६ का वडाध्यक्ष वैद्यनाथ झासहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ।

स्थानीय ३६ वर्षीय इन्जिनियर हुसनैन अन्सारीमाथि ज्यान लिने मनसायका साथ आक्रमण गरी घाइते बनाएको आरोपमा पीडितका दाजु ३९ वर्षीय नुरैन अन्सारीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराउनुभएको हो।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरअन्तर्गत बलवा बजारदेखि रौजा बजार हुँदै पडौंलसम्म निर्माणाधीन हुलाकी सडक आयोजनाको ४१२ मिटर आरसीसी ढलान भइरहेको स्थान देवनमामा विवाद उत्पन्न हुँदा अन्सारीमाथि आक्रमण भएको जनाइएको छ।

आक्रमणबाट अन्सारीको हातको एउटा औँला काटिएको र शरीरका विभिन्न भागमा चोट लागेको परिवारले जनाएको छ। घटनापछि न्यायको माग गर्दै प्रहरीमा जाहेरी दिइएको थियो।

पीडित पक्षले वडाध्यक्ष वैद्यनाथ झासहित बलवा–६ का श्याम यादव, मञ्जेश यादव तथा वडा नं. ५ का राजु यादव र बलराम यादवलाई प्रतिवादी बनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार सारू मगरले घटनामा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरी कानुनबमोजिम अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button