तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो कार्यक्रम ‘कानुनका कुरा’ लाई समय सापेक्ष बनाउनुपर्नेमा जोड

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालबाट प्रसारित हुँदै आएको रेडियो कार्यक्रम कानुनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालमा आयोजित कानुनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले आम नागरिकलाई कानुनका विषयमा सरल ढङ्गबाट जानकारी दिन कार्यक्रम कोशेढुंगा सावित भएको बताउनुभयो ।

सचिव ढुङ्गानाले आगामी आर्थिक वर्षमा मन्त्रालयले १ सय ५१ वटा कानुन निर्माणको तयारीमा रहेको भन्दै भइरहेका कानुन र नयाँ बन्ने कानुनका विषयमा नागरिकलाई सुसुचित गराउन कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कानुनका बारेमा नागरिकलाई जानकारी दिनु राज्यको दायित्व भएकोले सबैभन्दा धेरै नागरिकको पहुँचमा रेडियो नेपाल पुगेको हुनाले रेडियो नेपालबाट प्रसारित कार्यक्रम कानुनका कुरामा आधारभूत नागरिकले कानुनबारे जान्ने गरी विषय चयन गर्नुपर्नेमा जोड दिनभयो । 

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्यले निर्माण गरेका कानुनका बारेमा नागरिकसम्म सहज रुपमा जानकारी पुर्‍याउन सञ्चार माध्यमले पुलको रुपमा काम गर्ने र त्यसका लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो ।

उहाँले, आगामी दिनमा कार्यक्रमलाई थप समावेशी बनाउनुका साथै  तल्लो तहका नागरिकसम्म पुगेर निर्माण गरिनुपर्ने तथा कार्यक्रमका विज्ञहरू पनि त्यसै अनुसार छनोट गर्नुपर्ने सुझाव दिनुभयो ।

कानून मन्त्रालयका सह-सचिबद्धय हुमबहादुर केसी र अरुणा जोशीले नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने कानुनका विषयमा जानकारी दिने उद्देश्यले सुरु गरिएको रेडियो कार्यक्रम कानुनका कुरा प्रभावकारी देखिएको बताउनुभयो ।

सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव उदय बहादुर रानाले सबै पक्षलाई समेट्ने र समसामयिक विषयहरूलाई समेत समावेश गरेर कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

रेडियो नेपाल समाचार महाशाखाका प्रमुख पवन प्याकुरेल र व्यापार महाशाखाका प्रमुख गोपाल थापाले कानुनको अज्ञानता अक्षम्य हुन्छ भन्ने जानकारी नागरिकसम्म पुर्याउने र राज्यले बनाएका कानुनबारे नागरिकलाई जानकारी दिने उद्देश्य अनुसार कार्यक्रम प्रसारण भइरहेको बताउनुभयो ।

कार्यक्रमका संयोजक सन्तोष रेग्मीले चालु आर्थिक वर्षमा प्रसारण भएका कार्यक्रम र विषयवस्तुबारे जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button