डुडुवा गाउँपालिकाले न्यायिक समितिको क्षमता बढायो
बाँके। स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकाले न्यायिक समिति सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।
गाउँपालिकाको आयोजनामा भएको तालिममा न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। तालिममा अधिवक्ता इश्वरी प्रसाद ज्ञवालीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार न्यायिक समितिको अधिकार क्षेत्र, उजुरी दर्ता तथा व्यवस्थापन, मेलमिलाप प्रक्रिया, विवाद समाधानका कानुनी आधार, निर्णय लेखन, अभिलेख व्यवस्थापन तथा न्याय सम्पादनका व्यावहारिक पक्षबारे सहजीकरण गर्नुभएको थियो।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले न्यायिक समितिलाई स्थानीय सरकारको प्रभावकारी न्यायिक संयन्त्रका रूपमा स्थापित गर्न यस्ता क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले न्याय सम्पादन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र नागरिकमैत्री बनाउन जनप्रतिनिधि तथा कर्मचारीले उच्च जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।
न्यायिक समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै स्थानीय तहका विवादलाई मेलमिलाप र कानुनी प्रक्रियामार्फत छिटो, सहज र प्रभावकारी रूपमा समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिका न्यायिक समितिका विवेक तिवारीका अनुसार दुईदिने तालिमले न्यायिक समितिको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा न्यायमा नागरिकको पहुँच विस्तार, विवाद समाधान प्रक्रियाको प्रभावकारिता वृद्धि र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्