गोठालाको चरन क्षेत्रदेखि भाइरल गन्तव्यसम्म: चौरीखर्कको बदलिँदो रूप
'छिनछिनमै फेरिने मौसम, पलपलमै बदलिने दृश्य'
रुकुम पूर्व । हिजोआज सामाजिक सञ्जालका ‘रिल्स्’ र ‘भिडिओ’हरूमा एउटा सुन्दर हिमाली दृश्य खुबै छाएको छ- गोडाभरी ढकमक्क फुलेका बुकी फूलहरू, आँखै अगाडि सेताम्मे हिमाल र छिनछिनमै गोडा मुनितिरै मडारिने बादलको सागर। यो कुनै चलचित्रको काल्पनिक दृश्य होइन, रुकुमपूर्वको हिमाली काखमा अवस्थित “चौरीखर्क” हो।

कुनै समय केवल भेडाबाख्रा र चौँरी चराउने खर्क (चरन क्षेत्र)मा सीमित यो ठाउँ आजभोलि आन्तरिक पर्यटकहरूको सपनाको गन्तव्य बनेको छ। सामाजिक सञ्जालमा चौरीखर्कका तस्बिर तथा भिडियोहरू भाइरल बनेपछि यहाँ पर्यटकको चहलपहल अनपेक्षित रूपमा बढेको हो।

पुथा उत्तरगंगा गाउँपालिका–११ र भूमे गाउँपालिका–१ को संगमस्थलमा रहेको चौरीखर्क समुद्री सतहदेखि करिब ४ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । केही वर्षअघिसम्म गोठाला तथा पशु चरन क्षेत्रका रूपमा मात्र परिचित चौरीखर्क अहिले हजारौँ पर्यटक पुग्ने गन्तव्य बनेको छ ।

बुकी फूलले ढाकिएका विशाल लेक, छिनछिनमै बदलिने बादल, नीलो आकाश तथा उत्तरतर्फ देखिने हिमशृङ्खलाले चौरीखर्कलाई विशेष आकर्षक बनाएको छ । स्थानीयका अनुसार पछिल्लो समय दैनिक दुई हजारसम्म आन्तरिक तथा केही विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–रुकुमपूर्व जोड्ने पातीहाल्नेसम्म सडक विस्तार भएपछि चौरीखर्क पुग्न सहज भएको छ । पातीहाल्नेदेखि सवारी यात्रा र त्यसपछि करिब दुई घण्टाको पैदल यात्रापछि पर्यटकहरू चौरीखर्क पुग्ने गरेका छन् ।

चौरीखर्क पुगेका पर्यटकहरूले यहाँको प्राकृतिक सौन्दर्य अविस्मरणीय रहेको प्रतिक्रिया दिएका छन् । बागलुङकी सीता पुनले बुकी फूल, हिमाल र बादलको दृश्यले आफूलाई मन्त्रमुग्ध बनाएको बताउनुभयो । गुल्मीकी ज्योती मगरले सामाजिक सञ्जालमा भिडियो हेरेपछि चौरीखर्क पुगेको र प्रत्यक्ष दृश्य झनै आकर्षक लागेको बताउनुभयो ।

यस्तै जाजरकोटका दिनेश रोकायले सडक स्तरोन्नति, बसोबास तथा आधारभूत सुविधा विस्तार गर्न सके पर्यटकको संख्या अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । दाङकी अदिका रोका मगरले पूर्वाधार विकास गर्न सके चौरीखर्क नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो ।
पर्यटकको संख्या बढ्दै गए पनि चौरीखर्कमा होटल, होमस्टे, शौचालय, खानेपानी, सूचना केन्द्र, फोहोर व्यवस्थापन तथा उद्धार–सुरक्षाजस्ता आधारभूत सुविधा पर्याप्त छैनन् । स्थानीय तथा पर्यटन व्यवसायीहरूले पूर्वाधार विकासमा ध्यान दिन सके यस क्षेत्रले जिल्लाको पर्यटन तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
बुकी फूलको रङ्गिन कार्पेट, हिमालसँग लुकामारी खेल्ने बादल र खुला हिमाली मैदानका कारण चौरीखर्क अहिले रुकुमपूर्वको नयाँ पहिचान बन्दै गएको छ । संरक्षण, पूर्वाधार विकास तथा प्रभावकारी प्रचारप्रसारमा समयमै ध्यान दिन सके चौरीखर्क नेपालकै उदीयमान हिमाली पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिएको छ ।।








प्रतिक्रिया राख्नुहोस्