कालोपत्रे सडक बनेपछि बिजलपुराका स्थानीयलाई आवतजावतमा सहज
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१३ बिजलपुरामा १ हजार १ सय ९५ मिटर लामो कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ। सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ।
बर्दिबास नगरपालिकाको एक करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सडकको नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले स्थलगत अनुगमन गरेका छन्।
नगरपालिकाले भंगाहा–४ स्थित बुद्धम सरनाम कन्स्ट्रक्सन प्रालिसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित एक करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी सडक निर्माण सम्पन्न गरेको नगर प्रमुख क्षेत्रीले जानकारी दिए।
स्थानीय रोशन महतोका अनुसार कालोपत्रे सडक निर्माण भएपछि वर्षायाममा हुने हिलो र आवतजावतको समस्या हटेको छ। अर्का स्थानीय सरोज यादवले सडक निर्माणसँगै यातायात सेवा सहज भएको, कृषि उत्पादनको ढुवानी, व्यापार–व्यवसाय तथा शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तारमा समेत टेवा पुग्ने बताए।
स्थानीयवासीले विकास निर्माणका कामलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, खानेपानी तथा कृषि क्षेत्रसँग सम्बन्धित थप योजनासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुने अपेक्षा गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्