तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराका स्थानीय तहमा छाउपडी गोठमुक्त अभियान तीव्र

बाजुरा । बाजुरामा छाउपडी प्रथा अन्त्य गर्दै महिलाका लागि सुरक्षित, सम्मानजनक र मर्यादित महिनावारी व्यवस्थापन वातावरण निर्माण गर्न स्थानीय तहहरूले छाउपडी गोठमुक्त अभियानलाई प्रभावकारी रूपमा अघि बढाएका छन्।

विभिन्न पालिकाहरूले जनचेतना जगाउने, अभिमुखीकरण गर्ने, गोठहरूको अनुगमन गर्ने तथा छाउगोठ भत्काउने अभियान चलाएर यस प्रथाको अन्त्यका लागि सक्रियता बढाएका हुन्।

यसै अभियानअन्तर्गत बडीमालिका नगरपालिकाका वडा नम्बर-१ र वडा न-७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएको छ। नगर उपप्रमुख नन्दा थापाले आयोजित कार्यक्रममा दुवै वडालाई औपचारिक रूपमा छाउपडी गोठमुक्त घोषणा गर्नुभएको हो।

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाका अनुसार छाउपडी गोठमुक्त घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड पूरा गरेपछि दुवै वडालाई गोठमुक्त घोषणा गरिएको हो। नगरपालिकाले सञ्चालन गर्दै आएको ‘महिलासँग उपप्रमुख’ कार्यक्रममार्फत प्रत्येक वडामा रहेका छाउगोठको अनुगमन, स्थानीयसँग छलफल तथा छाउपडी प्रथाविरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

वडा नम्बर ७ की वडा सचिव सरिता ठकुल्लाका अनुसार जिल्ली, ढम्कने, सुनकाना, सिराडी र रजातोली टोलमा रहेका छाउगोठको अनुगमन गरी प्रयोगविहीन बनाइएको तथा अधिकांश गोठ भत्काइएको छ। पहिलो चरणको अनुगमनमा १८ र दोस्रो चरणमा १२ गरी वडामा रहेका ३० वटा छाउगोठको तथ्याङ्क सङ्कलन गरी सबै गोठ हटाइएको उहाँले जानकारी दिनुभयो।महिलालाई घरभन्दा टाढा गोठमा बस्न बाध्य पार्ने परम्पराको अन्त्य गर्दै घरमै सुरक्षित रूपमा बस्ने वातावरण सिर्जना भएपछि वडालाई छाउपडी गोठमुक्त घोषणा गरिएको हो।

यो सँगै बडिमालिकाका ९ वटा वडा मध्ये ८ वटा वडा छाउपडी गोठमुक्त भएका छन् भने अब वडा नम्बर ८ मात्रै छाउपडी गोठमुक्त वडा घोषणा हुन बाँकी रहेको र त्यसलाई समेत घोषणा गर्ने तीव्र तयारी भइरहेकाले केही समय भित्रै नगरपालिकालाइनै छाउपडी गोठमुक्त घोषणा गरिने नगर उपप्रमुख नन्दा कुमारी थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button