कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ को सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सकिएको छ । यही असार १९ गतेदेखि सुरु भएको मन्त्रालयगत विभिन्न शीर्षकमाथिको समूहीकृत छलफल आज सकिएको हो ।
छलफलमा पहिलो दिन प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, सपना दर्जी र खिनु लङ्वा लिम्बूले, दोस्रो दिन रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराँती, गणेश उप्रेती र विनोद राईले तथा आज गोम्बू शेर्पा, नरिन राई, छविलाल चुडाल, लीलबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, विद्या चाम्लिङ राई, सिर्जना राई, एकराज कार्की, रेवतीरमण भण्डारी, गोविन्द गिरी, सम्झाना तामाङ साम्सुहाङ र रामदेव यादवले प्रस्तुत विषयमा आ-आफ्नो धारणा राख्नुभयो ।
आजको बैठकको विशेष समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनमा चुनौती देखिने किसिमको रहेको बताउनुभयो ।
उहाँले उक्त बजेट त्रुटिपूर्ण रहेको भन्दै बजेटलाई कार्यान्वयनमा ल्याउने सन्दर्भमा सरकारसँग ठूलो चुनौती रहेकाले सदनबाट त्रुटि सच्याउने प्रस्ताव ल्याउनु उचित विकल्प हुने धारणा राख्नुभयो । उहाँले कार्यान्वयनमा जान नसक्ने बजेट जनताको हितमा काम हुन नसक्ने दाबी गर्नुभयो । नेता आङ्बोले विकास, समृद्धि, रोजगार र उत्पादनसँगै जनताको आवश्यकता पूरा गर्न किसिमको बजेट आउनुपर्नेमा जोड दिनुभयो ।
बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य मीना श्रेष्ठ, सविना बजगाईँ र सपना दर्जीले प्रदेशको मौजुदा समस्याका बारेमा आ(आफ्नो धारणा राख्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक असार २२ गते सोमबार बिहान ११ः०० बजे बस्ने उपसभामुख सृजना दनुवारले जानकारी दिनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्