राष्ट्रियसभाबाट विभिन्न विधेयकहरू स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघि बैठकमा विधेयक माथिको छलफलमा सासदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकलाई फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटिए)को ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्धताका साथ लागेको बताउनुभयो ।
एफएटिएले दिएका सुझाव कार्यान्वयन नभएको अवस्थामा नेपाल कालो सूचीमा पर्ने सम्भावना रहेकाले यसको गाम्भीर्यतालाई ख्याल गरी सहयोग गरिदिन अर्थमन्त्री डा वाग्लेले आग्रह गर्नुभयो ।
त्यसैगरी राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट प्रस्ताव पेस गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण तीव्रत्तर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताउनुभयो ।
यसैगरी राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यसअघि विधेयक माथिको छलफलमा सांसदहरु उठाउनुभएका प्रश्नको जवाफमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने धारणा राख्नुभयो ।
उहाँले सहकारीबाट ऋण लिएकाबाट रकम असुलउपर गर्न सरकार कठोर नभएको खण्डमा बचतकर्ताको रकम फिर्ता गर्न अप्ठ्यारो हुने भएकाले ऋण उठाउनका लागि केही कडा प्रावधान राखिएको स्पष्ट गर्नुभयो ।
त्यसैगरी प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई राष्ट्रियसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउन विधेयक ल्याइएको बताउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो १२ः१५ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्