‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । धनगढीमा आज आयोजित ‘द लास्ट माइल हेल्थ समिट–२०८३’ को उद्घाटन गर्दै उहाँले जनताको आधारभूत आवश्यकताका रूपमा रहेको स्वास्थ्य सेवा सुधार र गाउँ–गाउँमा स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले आफूले सुदूरपश्चिमका पाँच वटा आधारभूत अस्पताललाई प्रादेशिक अस्पताल बनाउने नीतिअनुसार दुई वटा अस्पताललाई स्तरोन्नति गरिसकिएको र तीन अस्पताल प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
प्रादेशिक अस्पतालहरूमा मृगौला रोगको उपचारका लागि डायलाइसिस सेवा विस्तारको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले बिरामीको चाप र जनताको आवश्यकतालाई मध्यनजर गर्दै सूचना तथा प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने बताउनुभयो ।
कार्यक्रममा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सीमित स्रोतसाधनका बाबजुद पनि सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तारमा काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि सरोकार भएका सबै क्षेत्रको प्रभावकारी भूमिका आवश्यक रहेको र त्यसमा सहजीकरण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासीले प्रदेशमा सञ्चालित डिजिटल स्वास्थ्य प्रणालीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले प्रदेशका २० वटा नगरपालिकामा स्मार्ट हेल्थ किट, प्रादेशिक तथा जिल्ला अस्पतालहरूमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणालीलगायत प्रविधिको प्रयोग र अछाम जिल्लाका पालिकाहरूमा सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो ।
जनस्वास्थ्य प्रशासक मलासीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘स्वास्थ्यमा प्रविधि, समृद्धिमा गति’ भन्ने नारासहित विशेषज्ञ चिकित्सा सेवाको पहुँच बढाउन ‘टेलिहेल्थ’ लगायत कार्यक्रम सञ्चालन गर्ने नीति रहेको जानकारी दिनुभयो ।
बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका तथा स्मार्ट हेल्थ ग्लोबलको संयुक्त आयोजनामा समिट भएको हो । त्यस अवसरमा बाजुराका चार पालिकामा जनतासँग डिजिटल स्वास्थ्य सेवा प्रवाहका विषयमा छलफलसमेत गरिएको कार्यक्रमका अध्यक्ष एवं बडिमालिका नगरप्रमुख अमरबहादुर खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्