तपाईँ सुन्दै हुनुहुन्छः

बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगञ्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेको आयोजनामा शनिबार नेपालगञ्जमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बाँकेलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो ।

जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा समितिका सदस्य सचिव सुनिता पौडेलले पूर्ण खोप सुनिश्चितता घोषणा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदन अनुसार घरधुरी सर्वेक्षणका क्रममा बाँकेमा १६ देखि २३ महिनासम्मका ११ हजार ५ सय ६४ जना बालबालिकाको खोप अवस्था यकिन गरिएको थियो । तीमध्ये १० हजार ७ सय ९९ जना अर्थात् ९४ प्रतिशत बालबालिकाले सबै आवश्यक खोपको मात्रा प्राप्त गरेको पाइएको थियो । बाँकी ७६५ जना बालबालिकामध्ये १८ जना शून्य डोज र ७४७ जना ड्रप आउट बालबालिका पहिचान भएका थिए ।

ती सबै बालबालिकालाई खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय निर्देशिका अनुसार आवश्यक खोप प्रदान गरिएको र बाँकेका आठ वटै स्थानीय तहका सबै ११ हजार ५ सय ६४ जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउन सफल भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नु उपलब्धिको अन्त्य नभई दिगोपनाको सुरुवात भएको बताउनुभयो । उहाँले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्नु सबै तहको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको समन्वयलाई निरन्तर सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री घिमिरेले खोपले बालबालिकालाई विभिन्न सङ्क्रामक तथा ज्यानै जोखिममा पार्ने रोगबाट जोगाउने भएकाले अभिभावकलाई समयमै आफ्ना बालबालिकालाई सबै खोप लगाउन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँगै नियमित खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको समेत बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु चौधरी, स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादु बम, जिल्ला खोप समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, साझेदार संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय बाँकेमा खोप फाकल पर्सन देवनारायण उपाध्यायले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button