तपाईँ सुन्दै हुनुहुन्छः

नाम र ठेगाना मिल्दा अर्कैको मुद्दामा बेङ्गलुरुबाट काठमाडौँ अदालत पुगे बैतडीका मुकेश

बैतडी । “तपाईँको छोराविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी सम्बन्धी मुद्दा दर्ता भएको छ। उहाँलाई अदालतमा हाजिर हुन भन्नुहोस्,” गत असार २२ गते बिहान प्रहरी टोलीले बैतडीको पाटन नगरपालिका–६ बिट्ठेउडाकी रोहिना बिष्टलाई यति भनेपछि उहाँको परिवार एकाएक तनावमा पर्‍यो।

दुई वर्षदेखि भारतको बेङ्गलुरुमा मजदुरी गर्दै आएका छोरा मुकेश विष्टविरुद्ध ठगीको मुद्दा लागेको कुरा सुनेपछि आमा रोहिनाले तत्काल छोरालाई फोन गर्नुभयो । मुकेशले आफूले कहिल्यै कुनै ठगी नगरेको र यस्तो विषयमा जानकारी समेत नभएको बताउनुभयो । तर, अदालतको कुरा भएकाले सत्य–असत्य जे भए पनि उपस्थित हुनुपर्ने सोचेर परिवारले मुकेशलाई तत्काल नेपाल फर्किन आग्रह गर्‍यो।

असार २८ गते बेङ्गलुरुबाट घर पुगेका मुकेश त्यसपछि काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुन राजधानीतर्फ लाग्नुभयो । तीन दिनको लामो यात्रा गरेर काठमाडौँ पुगेपछि भने उहाँले थाहा पाउनुभयो– “पक्राउ पुर्जी मुकेशको नाममा नभई अर्कै व्यक्तिको रहेछ ।”

“काठमाडौँ पुगेको भोलिपल्ट मैले वकिलमार्फत आफ्नो मुद्दाबारे बुझ्न लगाए,” मुकेशले भन्नुभयो, “त्यहाँ हेर्दा पक्राउ पुर्जी अर्कै मुकेशको रहेछ । नाम, ठेगाना र बुवाको नाम मिले पनि नागरिकता नम्बर फरक रहेछ यही त्रुटिका कारण आफूले अनाहकमा दुःख पाए ।”

“१५–२० दिनको तनाव झेलेँ। बेङ्गलुरुबाट बैतडी हुँदै काठमाडौँ आउँदा मात्रै ७० हजार रुपैयाँभन्दा बढी खर्च भयो । यहाँ आएपछि अर्कै मुकेशको पक्राउ पुर्जी रहेछ भन्ने थाहा पाएँ । यस्तो गम्भीर लापरबाहीको जिम्मेवारी कसले लिन्छ ? मेरो क्षतिपूर्ति कसले दिने ?” उहाँले प्रश्न गर्नुभयो ।

मुकेशका आमाबुवा लेखपढ गर्न नजान्ने भएकाले परिवार थप अन्योलमा परेको थियो । कानुनी प्रक्रिया बुझ्ने कोही नभएपछि परिवारले कुवेतमा रहनुभएका मुकेशका काका केशव बिष्टलाई समेत नेपाल बोलायो ।

केशवका अनुसार पक्राउ पुर्जी बुझाउँदा प्रहरीले वृद्ध आमाबुवालाई कागजमा हस्ताक्षर मात्रै गराएको थियो । मुद्दाको वास्तविक विवरण नबुझाइएकाले परिवार त्रसित भएको उहाँले बताउनुभयो ।

“घरमा लेखपढ गर्न नजान्ने बाबुआमालाई अदालतमा हाजिर हुनुपर्ने भन्दै कागजमा हस्ताक्षर गराइयो । छोराविरुद्ध ठगीको मुद्दा परेको भन्ने सुनेपछि परिवार नै आत्तियो,” उहाँले भन्नुभयो, “म कुवेतबाट करिब ३ लाख रुपैयाँ खर्च गरेर नेपाल आएँ । भतिजा मुकेशको पनि जागिर छुट्यो, मेरो पनि बिदा र रोजगारीमा असर पर्‍यो। यसको जिम्मा कसले लिने ?”

उहाँले राज्यका निकायको सामान्य त्रुटिका कारण एउटा परिवारले आर्थिक, मानसिक र सामाजिक रूपमा ठूलो क्षति व्यहोर्नुपरेको भन्दै क्षतिपूर्तिको माग गर्नुभयो ।

यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार रायले भने अदालतबाट प्राप्त म्याद तामेलीका आधारमा मात्रै प्रहरी परिचालन गरिएको बताउनुभयो ।

“यो साइबर ब्युरो अन्तर्गतको मुद्दा रहेछ । म्याद तामेलीका लागि पत्र आएको थियो । मुद्दा बैतडीकै भएको भए थप विवरण थाहा हुन्थ्यो । हामीलाई आएको पत्रमा नाम र ठेगाना मिलेकै आधारमा अदालतमा उपस्थित हुन जानकारी गराइएको हो, कुनै पक्राउ नै गरिको हैन,” डीएसपी रायले भन्नुभयो । 

नाम, ठेगाना र बुवाको नाम मिलेको तर नागरिकता नम्बर फरक रहेको अवस्थामा समेत पर्याप्त यकिन नगरी म्याद तामेली गरिँदा निर्दोष व्यक्तिले अनाहकमा आर्थिक तथा मानसिक सास्ती व्यहोर्नुपरेको भन्दै पीडित परिवारले सम्बन्धित निकायबाट क्षतिपूर्तिसहित जबाफदेहिता माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button