रौतहटमा ७८ प्रतिशत धान रोपाइँ, मल अभावले किसान चिन्तित
रौतहट । रौतहटमा ७८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत सातादेखि भएको पर्याप्त वर्षापछि किसानले तीव्र रुपमा रोपाइँ गरेसँगै जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको हो । तर रोपाइँसँगै रासायनिक मलको अभावले किसान चिन्तित बनेका छन् ।

कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा करिब ३१ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस वर्ष पनि सोही हाराहारी क्षेत्रफलमा धान खेती हुने लक्ष्य राखिएको छ । हालसम्म ७८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार रौतहटमा धान खेती मुख्यतः आकाशे पानीमा निर्भर रहने भएकाले गत साताको वर्षाले किसानलाई ठूलो राहत पुगेको छ । पर्याप्त वर्षापछि किसानले धमाधम धान रोपाइँ गरेका हुन् ।
यद्यपि, रोपाइँ अन्तिम चरणमा पुग्न लाग्दा किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी वितरण प्रणालीबाट पर्याप्त मल उपलब्ध नभएपछि किसान निजी स्रोत वा भारतबाट महँगो मूल्यमा मल खरिद गर्न बाध्य भएको गुनासो गरेका छन् ।
वृन्दावन नगरपालिका–१ का किसान रबिन्द्र पटेलले धान रोपेको एक साताभन्दा बढी समय बितिसक्दा पनि मल नपाएको बताउनुभयो । धेरै स्थानमा खोज्दा पनि मल नपाएकाले अब बालीको स्याहार कसरी गर्ने भन्ने चिन्ता बढेको उहाँको भनाइ छ ।
सोही स्थानका अर्का किसान पसिन्दर राउतले ११ कट्ठा जमिनका लागि डीएपी मलको खोजी गरिरहनुभएको छ । बिहीबार सहकारी संस्थामा पुगेर एक बोरा मलका लागि अनुरोध गरे पनि उपलब्ध नभएको उहाँले बताउनुभयो । धान रोप्ने समय सकिन लाग्दासमेत मल नपाउनु हरेक वर्ष दोहोरिने समस्या बनेको उहाँको भनाइ छ ।

गुजरा नगरपालिकाका किसान सुबाश चौधरीले नेपालमा मल नपाएपछि भारतबाट ल्याउने प्रयाससमेत सहज नभएको बताउनुभयो । सीमा क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल ओसारपसारमा कडाइ गरेकाले किसानलाई थप समस्या भएको उहाँले बताउनुभयो ।
किसानका अनुसार जिल्लाका अधिकांश सहकारी संस्थामा मलको मौज्दात सकिएको छ । दिनहुँ सहकारी धाउँदा पनि किसान रित्तै फर्किन बाध्य छन् ।
यता चन्द्रनिगाहपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडले पुरानो मौज्दातबाट तीन हजार पाँच सय ८४ बोरा डीएपी मल वितरण गर्ने जनाएको छ । तर यो परिमाण जिल्लाको आवश्यकताको तुलनामा निकै कम रहेको छ । रौतहटमा प्रत्येक वर्ष ५० हजार बोराभन्दा बढी डीएपी मल आवश्यक पर्ने कृषि कार्यालयको तथ्याङ्क छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी गोविन्द घिमिरेले बाहिरबाट मल आपूर्ति हुन नसक्दा अभाव सिर्जना भएको बताउनुभयो । उहाँका अनुसार हाल पुरानै मौज्दातबाट मल वितरण भइरहेको छ भने पश्चिम एसियामा जारी द्वन्द्वका कारण थप मल आयात प्रभावित भएको छ । कम्पनीसँग हाल १७ हजार चार सय ८० बोरा युरिया मौज्दात रहेको उहाँले जानकारी दिनुभयो ।
धानबालीको वृद्धि र उत्पादनका लागि आवश्यक मल समयमै उपलब्ध गराउन नसकिए यस वर्षको उत्पादनमा असर पर्न सक्ने भन्दै किसानले सरकारले तत्काल पर्याप्त मलको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्